नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्नेमा जोड

नेपालखोज २०८० असार ३ गते १९:४८

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजन केसीले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीर्षकमाथिको छलफलका क्रममा उनले सो कुरामा जोड दिएका हुन् ।

सांसद मेनकाकुमारी पोखरेलले बजेटले समग्र देशलाई समेट्नुपर्ने भए पनि राजनीतिक दलको शक्तिको आधारमा बजेट ल्याइएको भन्दै गुनासो गरिन् । उनले भनिन्, “खासगरी बजेटमा मुटु, मधुमेह, क्यान्सर जस्ता रोगका लागि सरकारले बजेटको कुनै व्यवस्था गरेको छैन, स्वास्थ्य मन्त्रालयले सचेतनाका लागि कुनै ध्यान दिएको छैन, यसलाई स्थानीय तहसम्म पुर्याउन आवश्यक छ ।”

सङ्घीय मन्त्रालय सबै कर्मचारीको मन्त्रालय भए पनि सही तथ्याङ्क दिन नसकेको उनको भनाइ छ । सांसद छिरिङ डम्डोल लामा भोटेले मेडिकल माफियालाई पत्ता लगाएर कारबाही गर्नुपर्ने माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्नुपर्छ भने । आम सर्वसाधारण जनताको स्वास्थ्यमा सहज पहुँच हुनुपर्ने उनको भनाइ छ ।

सांसद दामोदर पौडेल वैरागीले भोलि नै नागरिकता विधेयक संसद्मा ल्याएर पास गरेर जनतालाई सहज बनाउन आग्रह गरे। सङ्घीय निजामती ऐन जतिसक्दो चाँडो ल्याएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । सांसद सञ्जयकुमार गौतमले चालु खर्च बढेको, विकास खर्चहरु कम भएको भन्दै यो राष्ट्रिय समस्या भएको बताए । सांसद हेमराज राईले सरकार सङ्घीयता कार्यान्वयन गर्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखे ।

सांसद लीलादेवी बोखेम लिम्बूले पूर्वका विभिन्न जिल्लामा गए राति भएको अविरल वर्षाका कारण भएको भएको मानवीय र भौतिक क्षतिबारे सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए । सांसद नारायणप्रसाद आचार्यले स्वास्थ्य बीमालाई अझै व्यवस्थित गर्नुपर्ने माग गरे ।

सांसद रामशङ्कर यादवले दलका नेताहरूले आ–आफ्नो पहचुँका आधारमा आफ्नो जिल्लामा बजेट छुट्याउन लागि परेकाे आरोप लगाए । सांसद सम्झना थपलियाले बालविवाह रोक्नका लागि सरकारले तराईका जिल्लामा प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

सांसद प्रेमबहादुर महर्जनले मानसिक स्वास्थ्यका बारेमा बजेटको व्यवस्था नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। प्रतिनिधिसभाको अर्को बैठक सोमबार भोलि ११ बजे बस्नेछ ।

प्रतिक्रिया