भरतपुर भ्रमण वर्षको तयारी

चितवन । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन तयारी थालिएको छ । चितवनको भरतपुर महानगरपालिकाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भ्रमण वर्ष मनाउन लागेको हो ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य रहेको भरतपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन यो भ्रमण वर्षको आयोजना गर्न लागिएको हो । महानगरका पर्यटन विज्ञ सल्लाहकार विश्व सुवेदीका अनुसार महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको ५०१ सदस्यीय मूलसमिति गठन गरिएको छ ।
महानगर प्रमुख दाहालले महानगरको गन्तव्य राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न, पर्यटकको सङ्ख्या र बसाइँअवधि वृद्धि गर्न भ्रमण वर्ष मनाउन लागिएको बताइन् । उनले महानगरभित्रका नयाँ गन्तव्य पहिचान गरी प्रचारप्रसार गरिने जानकारी दिइन् । महानगरभित्रका पर्यटकीय गन्तव्यको पूर्वाधार विकास र सौन्दर्यकरण गरिने दाहालको भनाइ छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्वार भरतपुर महानगरका धेरै ठाउँबाट रहेका छन् । निकुञ्जको धेरै जनावर पाइने पश्चिमी क्षेत्र महानगर हुँदै प्रवेश गरिन्छ । सूर्याेदयका लागि चौकीडाँडादेखि सूर्यास्तका लागि गोलाघाटसम्म भरतपुरमा पर्छन् ।
त्यसो त पवित्र तीर्थस्थल देवघाटधाम, गणेशधामलगायत धार्मिकस्थल पनि यहाँ रहेका छन् । महानगरपालिका राप्ती र नारायणी नदीको बीचमा रहेको छ । दुवै नदी पर्यटन प्रबद्र्धनका लागि महत्वपूर्ण मानिन्छन् । चितवन देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । पछिल्लो समय जिल्ला आउने खर्चिला पर्यटकको रोजाईँ भरतपुर महानगरको पटिहानी, जगतपुर, मेघौली हुने गरेको छ ।

प्रतिक्रिया