मंगलबार, वैशाख २५, २०८१

नेपालका उग्र विरोधी बिहारी युट्युबर कानुनी फन्दामा 

नेपालखोज २०८० असार ५ गते १३:२०

काठमाडौं । बिहारका चर्चित युट्युबर मनिष कश्यप (वास्तविक नाम- त्रिपुरारी तिवारी) को समस्या लगातार बढ्दै गएको छ । उनलाई बिहारको बेतिया अदालतले जुन २७, २०२३ मा हाजिर हुनका लागि बोलाएको छ। बेतिया अदालतले मनिषलाई २०२० मा बीजेपी विधायक उमाकान्त सिंहसँग कुटपिट र जबरजस्ती करणीको मुद्दामा बोलाएको हो ।

मनिष कश्यप तिनै युट्युबर हुन्, जसले लगातार नेपाल विरोधी भिडियो बनाएर सार्वजनिक गर्दै आएका छन् । उनका भिडियो नेपाल-भारतको मैत्रीपूर्ण सम्बन्ध खल्बल्याउने खालको मात्र हुँदैन उनले लगातार नेपाली सार्वभौमिकता तथा स्वाभिमान माथि धाबा पनि बोल्दै आएका छन् ।

यस बिच मनिष कश्यपलाई तमिलनाडु (मदुराइ सेन्ट्रल जेल) बाट बेतियामा ल्याउने प्रक्रिया चलिरहेको छ । यस घटनामा जिल्ला अभियोजन अधिकारी उमेशकुमार शर्माले प्रेस नोट जारी गर्दै त्रिपुरारी कुमार तिवारी उर्फ ​​मनिष कश्यप विरुद्ध मन्झौलिया प्रहरी चौकीमा कुटपिट गरी जबरजस्ती फिरौती माग गरेको आरोपमा मुद्दा दर्ता भएको जानकारी दिएका छन् । सोही मामिलामा अदालतले मनिषविरुद्ध प्रोडक्शन वारेन्ट जारी गरेको उनले बताए । उनलाई जुन २७ मा अदालतमा पेस गर्ने प्रक्रिया अघि बढेको छ ।

को हुन मनिष कश्यप ? 

मनिष कश्यप विरुद्ध सन् २०२० मा यो मुद्दा दर्ता भएको थियो । त्यसपछि उनी बेतिया जिल्लाको चनपटिया विधान सभाबाट स्वतन्त्र उम्मेदवार भए । यसै क्रममा भाजपा विधायक र उनीबिच केही विषयमा विवाद भएको थियो । पछि बीजेपी विधायकमाथि आक्रमण र जबरजस्ती असुली (रङ्गदारी ) को आरोपमा उनी विरुद्ध मुद्दा दर्ता भयो। यो मामिलामा उनी एक पटक पनि अदालतमा हाजिर भएनन् । सुनुवाइको मिति जुन १२, २०२३ मा तोकिएको थियो, तर मदुराइ जेलका सुपरिटेन्डेन्टले भिडियो कन्फरेन्समार्फत उनको उपस्थितिको जानकारी दिएका थिए तर अब बेतिया अदालतले उनलाई जुनसुकै अवस्थामा जुन २७ गते शारीरिक रूपमा हाजिर गर्न आदेश दिएको छ । 

अदालतले उनका विरुद्ध प्रोडक्शन वारेन्ट पनि जारी गरेको छ। उल्लेखनीय छ – त्रिपुरारी तिवारी (मनिष कश्यप) लाई पहिले नै तमिलनाडुमा बिहारी मजदुरहरू विरुद्ध कथित हिंसाको नक्कली भिडियोहरू बनाइ प्रसारित गरेको आरोपमा मुद्दा दायर गरिएको छ। उनीमाथि एनएसए (राष्ट्रिय सुरक्षा ऐन) लगाइएको छ भने ईओयूमा पनि रकम हेरफेरको मुद्दा दर्ता भएको छ । चर्को होहल्ला – विवाद र फरारको बिचमा बिहार पुलिसले आफ्नो घर कब्जा गर्न पुगेपछि उनले जगदीशपुर प्रहरी चौकीमा आत्मसमर्पण गरेका थिए ।

मनिष कश्यप विरुद्ध पुराना मुद्दा 

मनिष कश्यपमाथि सन् २०१६-१७ मा एक भिडियोमा महात्मा गान्धीका लागि अपमानजनक शब्द प्रयोग गरेको आरोप समेत छ । २०१८ मा उनले बिहारको बेतियाको एक चर्चमा राखिएको राजा एडवर्डको प्रतिमा तोडेका थिए, त्यसपछि उनलाई बेतिया पुलिसले पक्राउ गरेको थियो। मनिष कश्यपले आफूले पढेको विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेको आरोप पनि छ । त्यसपछि उनीविरुद्ध मुद्दा परेको थियो, जसमा महिलामाथि दुर्व्यवहारको आरोप समेत छ ।

सन् २०१९ को पुलवामा हमलापछि मनिष कश्यपले पटनामा कश्मीरी सल – स्वेटर आदिको मेलामा कश्मीरी व्यापारीहरू माथि आक्रमण गरे र उनीहरूका लुगा फालिदिए । उक्त मुद्दामा मनिष कश्यपलाई जेल पठाइएको थियो । सन् २०२१ मा उनले बैङ्क म्यानेजरसँग बैङ्क मै पुगेर झगडा गरेका थिए । बैङ्कका प्रबन्धकले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा पक्राउबाट जोगिन उनी उच्च अदालत गएका थिए तर अदालतले उनको अग्रिम जमानतको निवेदन खारेज गरिदिएको थियो । 

वास्तवमा मनिष कश्यप अहिलेको युट्युबर जमानाका ती प्रतिनिधि पात्र हुन जो आफ्नो भिडियो भाइरल बनाउन जुनसुकै हदमा जान तयार छन् र उनीहरूले यसैलाई आफ्नो कमाइ खाने भाँडो बनाएका छन् । अनि भन्नै पर्दा नेपालमा पनि यस्ता पात्रको कुनै कमी छैन ।

प्रतिक्रिया