शनिबार, जेठ ४, २०८२

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालखोज २०८० असार ८ गते ५:४३

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ । अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले जनाएका छन् ।

भेरी अस्पताल, नेपालगञ्जले एक सूचना प्रकाशन गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी सेवाग्राहीलाई दिइएको छ ।

अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ । स्थानीयवासी सीता केसीले दुईजना मिलेर अस्पताल बाहिरबाट खोप लिएर छोरीलाई लगाएको जानकारी दिए । उनले निःशुल्क खोप पाइने भएकाले पैसासमेत नलिएर अस्पताल आएको उल्लेख गरे । भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाट नै आपूर्ति नभएकाले अभाव भएको जानकारी दिँदै त्यसका लागि पहल भइरहेको बताए ।

उनले भने, ‘अस्पतालमा भएर नदिएको होइन, नभएकाले नै अस्पतालमा अभाव भएको हो ।’ अस्पताल प्रशासनका अनुसार सो खोप लगाउने बिरामी दैनिक एकसय हाराहारीमा अस्पताल आउने गर्छन् । सङ्घबाट प्रदेशमा आउने र प्रदेशबाट मात्रै अस्पतालमा खोप आउने बताइएको छ । कुकुरले टोकेकोलगायतका अवस्थामा सो खोप लगाइने गरिन्छ ।

प्रतिक्रिया