पूर्वाधार कार्यालयले ठोरीको सिकारीबासमा पाँच जनाको घर बनाइदिने

वीरगञ्ज (पर्सा) । पूर्वाधार विकास कार्यालय वीरगञ्जले पर्साको विकट ठाउँका रुपमा चिनिने सिकारीबासमा फुसको घरमा बसोबास गर्दै आएका सर्वसाधारणलाई दुई कोठे पक्की घर निर्माण गरिदिने भएको छ ।
कार्यालयले ठोरी गाउँपालिका–३ सिकारीबास फुसको घरमा बसोबास गर्दै आएका पाँच परिवारको लागि ‘जनता आवास कार्यक्रम अन्तर्गतएकीकृत बस्ती निर्माण गरिदिन लागेको हो । यो बस्ती ठोरीको हुलाकी राजमार्गबाट करिब छ किलोमिटरभित्र पर्दछ । जहाँ पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाईगर रिर्जभ लगायतको मध्यवर्ती क्षेत्रको रुपमा रहेको छ । तर,यहाँका सर्वसाधारण आधारभूत आवश्यकताबाट पनि बञ्चित हुँदै आइरहेका छन् ।
पूर्वाधार विकास कार्यालय वीरगञ्जका प्रमुख लालबाबु रायले चालु आर्थिक वर्षमा शिलान्यास भए पनि आगामी आर्थिक वर्षसम्म फुसको घरमा बस्दै आएका पाँच जना परिवारको लागि दुई–दुई कोठे एकीकृत घर बनाइदिन लागेको जानकारी दिए ‘‘मधेश प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गतप्रति घर तीन लाख ७२ हजार लागतमा निर्माण गर्न लागिएको हो ।
यसमा घरधनीले १० प्रतिशत श्रमदान पनि गर्नुपर्ने हुन्छ,’ उनले भने,‘यसअघि जनता आवास कार्यक्रम सघन सहरी तथा भवन निर्माण आयोजनाबाटै सम्पादन हुँदै आइराखेपनि पछिल्लो समय भने पूर्वाधार विकास कार्यालय मातहत व्यवस्थापन र सञ्चालन हुँदै आइरहेको छ ।’ कार्यालयका अनुसार फलामे ट्रस र जस्ताको छानोसहितको घर निर्माण गर्न लागिएको हो ।
गत शनिबार ठोरीको सिकारीबासमा आयोजित एक कार्यक्रमबीच एकीकृत बस्तीको शिलान्यास पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पूर्वाधार विकास कार्यालयका प्रमुख रायले संयुक्तरुपमा गर्नुभएको थियो । सो योजना अन्तर्गत सिकारीबासमा वर्षांैदेखि बस्दै आएका भङ्गीयादेवी थारु, तेत्रीदेवी थारु, रामचन्द्र थारु, भरत महतो थारु, पार्वतीकुमारी थारुको घर निर्माण गरिनेछ ।

प्रतिक्रिया