आइतबार, वैशाख १४, २०८२

भेरीमा रेबिजविरुद्धको खोप सकियो

नेपालखोज २०८० असार ८ गते १०:१३

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोप सकिएपछि बिरामीलाई सास्ती भएको छ ।

अस्पतालले निःशुल्क दिँदै आएको रेबिजविरुद्धको खोप सकिएपछि बिरामीले अस्पताल बाहिर महँगो दरमा खोप किन्न बाध्य भएका छन् ।

प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत रेबिजविरुद्धको खोप भण्डारण नरहेकाले अभाव भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए ।

उनका अनुसार, गत जेठ २८ गतेनै अस्पतालले रेबिजविरुद्धको खोप उपलब्ध गराउन नसकिनेवारे बिरामीको जानकारीको लागि सूचना टाँस गरिएको छ । भेरी अस्पतालमा उक्त खोप निःशुल्क पाइन्छ भनेर आएका बिरामीले अस्पतालमा नहुँदा बाहिरबाट किनेर लगाइरहेका छन् ।

अस्पतालमा भ्याक्सिन सकिएकाले बिरामीले बाहिरबाट किनेर ल्याएपछि लगाइदिने गरेको स्वास्थ्यकर्मी कृष्णबहादुर बुढाथोकीले जानकारी दिए ।

भेरी अस्पतालमा नयाँ र पुराना गरेर दैनिक एक सय जनाको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन आउने गरेका बुढाथोकीले बताए । एउटा सुई दुई बिरामीलाई लगाइन्छ । अस्पतालमा निःशुल्क मिल्ने खोप अस्पताल बाहिर बिरामीले छ सयसम्ममा खरिद गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया