बुधबार, जेठ २, २०८१

एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक

नेपालखोज २०८० असार ८ गते १८:२९

सुदूरपश्चिम । यही असार १५ गते धनगढीमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा सञ्जीवनी अस्पताल वर्ष खेलाडी पुरुष र हिमालयन गौरीशङ्कर डेन्टल क्लिनिक वर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरेको हो ।

सञ्जीवनी अस्पताल वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीका प्रकाश गिरी मनोनयनमा परेका छन् । पार्कीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एक सय मिटरमा २३ वर्ष पुरानो कीर्तिमान भङ्ग गर्दै तीन स्वर्ण र एक रजत पदक जितेका थिए । नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फका उत्कृष्ट खेलाडी बनेका पार्कीले एक सय मिटर, दुई सय मिटर र चार गुणा रिलेमा स्वर्ण पदक जितेका थिए ।

दीपेन्द्रसिंह ऐरीले नेपाली क्रिकेट टोलीलाई विश्वकप क्वालिफायरमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । वर्ष २०७९ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बनेका ऐरीले एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्दा एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका थिए । कबड्डीका गिरीले जुनियर कबड्डी च्याम्पियनसीपमा नेपालले ऐतिहासिक कास्य पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । सुदूरपश्चिमका तीन खेलाडीमध्ये नेपाललाई सेमिफाइनलसम्म पुर्याउन उनले सानदार प्रदर्शन गरेका थिए ।

हिमालयन–गौरीशङ्कर डेन्टल क्लिनिक वर्ष खेलाडी महिला विधामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाईं र फुटबलकी वर्षा ओली मनोनयनमा परेका छन् । रावलको कप्तानीले सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । नेपालमा भएको क्रसकन्ट्री म्याराथुनमा राजपुराले रजत पदक जितेकी थिइन् । वर्षाले नेपाललाई पहिलोपटक साफ यु–१५ महिला च्याम्पियनसीपको विजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

यसअघि चार विधाको मनोनय सार्वजनिक गरिसकिएको छ । वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारत्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । वर्ष युवा खेलाडीमा भारत्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । सुदूरपश्चिम आइकन पुरुष विधामा फेस्निङ्गका जलेन्द्र शाही, करातेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदूरपश्चिम आइकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दीपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेका छन् ।

छ विधाको मनोनयन सार्वजनिक गरेको मञ्चले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रममै सम्मान गर्ने जनाएको छ । लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने भएको आयोजकको भनाइ छ । चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गर्न लागिएको छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई जनही रु ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई रु ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही रु २५ हजारबाट पुरस्कृत गरिने जनाइएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया