नेपाली क्रिकेटमा रूपन्देहीले जगाएको आशा

बुटवल । क्रिकेटर उत्पादनको दृष्टिकोणले उर्वर जिल्ला मानिने रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको किक्रेट रङ्गशाला बनाउन सुरु गरिएपछि सो खेलको प्रर्वधनमा थप सहयोग पुग्ने क्रिकेटप्रेमीले अपेक्षा गरेका छन् ।
हाल अस्ट्रेलियामा बस्दै आएका गुल्मीका विनोद कुँवरले एकल लगानीमा तिलोत्तमा नगरपालिकाकामा रङ्गशालामा बनाइरहेका छन् ।
‘क्रिकेटप्रतिको यो मेरो रुचि मात्र नभई व्यवसाय पनि हो। यो रङ्गशालामा अभ्यास पनि हुने छ र प्रतियोगिताहरू पनि हुने छन्,’ उनले भने।
‘अस्ट्रेलियामा एकल लगानीमा बनेका कैयौँ रङ्गशाला छन् र ती व्यावसायिक रूपमा चलेका पनि छन् । मलाई पनि त्यसैगरी रङ्गशाला बनाउने हुटहुटी चल्यो अनि बनाउन सुरु गरेको हुँ।’
‘यो वर्ष ५,००० दर्शक क्षमताको रङ्गशाला बन्ने छ। त्यसपछि प्रत्येक वर्ष अरू ५,००० दर्शक क्षमता भएको संरचना बन्दै जाने छ,’ कुँवरले भने । उनका अनुसार आउँदो चार वर्षभित्र २५,००० दर्शक अटाउने रङ्गशाला बन्ने छ।
‘यो रङ्गशालाले रूपन्देहीबाट किक्रेटका खेलाडी उत्पादन गर्न धेरै नै सहयोग पुग्ने विश्वास मैले गरेको छु,’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनले भने ।
‘रङ्गशालाले खेल पर्यटकलाई पनि यहाँसम्म तान्न सक्ने सम्भावना मैले देखेको छु ।’ उक्त रङ्गशाला बनाउन करिब ४० करोड रुपैयाँ लाग्ने अनुमान छ।
रङ्गशालाका साथै होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर पनि निर्माण गरिने बताइएको छ जहाँ १०० जनालाई क्रिकेटको तालिम दिने लक्ष्य लिइएको छ ।
क्रिकेटमा रूपन्देही

‘रूपन्देही जिल्ला आफैँमा नेपाली क्रिकेटको उर्वर भूमि हो, यहाँका कैयौँ खेलाडीले राष्ट्रिय टोलीबाट खेलेका छन्,’ क्रिकेटका अन्तर्राष्ट्रिय निर्णायक समीर खानले भने ।
‘क्रिकेट खेललाई थप चलायमान बनाउन रङ्गशालाहरूको भूमिका आफैँमा महत्त्वपूर्ण हुन्छ । खान पनि रुपन्देहीकै हुन्। रूपन्देहीमा क्रिकेट खेलको आरम्भ २०३७ सालअगाडि नै भएको उनको दाबी छ ।
विसं २०३७ सालमा भएको राष्ट्रिय प्रतियोगितामा पहिलो पटक अञ्चल टीमको रूपमा रूपन्देही सहभागी भएको थियो ।
‘त्यसताका रूपन्देहीमा महेन्द्र सुगर मिल, लुम्बिनी खुकुरी क्लब, भेटघाट क्लब आदिबाट क्रिकेट खेल्ने गरिन्थ्यो,’ खान भन्छन् । ‘तर सन् १९९६ मा मलेशियामा भएको पहिलो एसीसी प्रतियोगिताबाट रूपन्देहीले राष्ट्रिय क्रिकेटमा नाम कमाएको हो।’
उक्त प्रतियोगितामा रूपन्देहीका चार खेलाडी – वसन्त शाही, राजु खड्का, जगत् टमाटा र सञ्जय गुरुङले नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए।
‘रूपन्देहीमा क्रिकेटप्रति लगाव छिमेकी मुलुक भारतका कारण पनि बढेको हुनसक्छ,’ पूर्वकप्तान शक्ति गौचन भन्छन्। ‘सीमा क्षेत्रमा सधैँजसो ठूलाठूला प्रतियोगिता भइरहने हुँदा त्यसको प्रभाव यता पनि विस्तार भयो।’
स्वर्णकार कप
चालीसदेखि ५० को दशकमा भैरहवामा सञ्चालन भएको स्वर्णकार कप क्रिकेट प्रतियोगितालाई रूपन्देहीमा क्रिकेट खेलाडी उत्पादनको हिसाबले महत्त्वपूर्ण प्रतियोगिता मानिन्छ।
उक्त प्रतियोगिताले पनि यस क्षेत्रमा क्रिकेटका खेलाडी उत्पादन गर्न ठूलो भूमिका खेलेको खान बताउँछन् । उक्त प्रतियोगिता अहिले भने हुन छाडेको छ। रूपन्देहीको क्रिकेटमा निजी विद्यालयहरूले पनि महत्त्वपूर्ण योगदान दिँदै आएका छन् ।
गौचनका अनुसार मुनलाइट, बुद्ध ज्योति, साई ग्लोबल, न्यू होराइजन लगायतका स्कूलले क्रिकेट प्रशिक्षक नै राखेर विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आएका छन् । रूपन्देहीका शक्ति गौचनले पनि लामो समयसम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए।
उनीसँगै अमृत भट्टराई, वसन्त रेग्मी, सागर पुन, राहुल बिक लगायतका खेलाडीले रूपन्देहीवाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका थिए।
अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका कुशल भुर्तेल, कुशल मल्ल, सुशन भारी, साहब आलम पनि रूपन्देहीकै खेलाडी हुन् । खेलाडीबाहेक प्रशिक्षक, अन्तर्राष्ट्रिय अम्पायर र म्याच रेफ्रीमा पनि रूपन्देहीको उल्लेख्य सहभागिता रहँदै आएको छ।
सत्यजित सरकार, समीर खान र सञ्जय गुरुङले अम्पायर तथा म्याच रेफ्रीका रूपमा राष्ट्रिय तथा न्तर्राष्ट्रिय प्रतियोगिता खेलाउँदै आएका छन्।
त्यसैगरी वसन्त शाही, जङ्गबहादुर थापा र शङ्कर रानाले खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन्। –BBC

प्रतिक्रिया