नेपाल चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने

एजेन्सी । नेपाल जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा समूह ‘ए’बाट चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने भएको छ । समूह एको अन्तिम खेलमा अमेरिका जिम्बावेसँग ३ सय ४ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाल चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने भएको हो ।
नेपाल ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ चौथो स्थानमा रह्यो । नेपाल जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । त्यस्तै अमेरिकालाई भने ६ विकेटले हराएको थियो । उता अमेरिका ४ खेलमा जित विहीन हुँदै पुछारमा रहेर प्लेअफ खेल्ने भएको छ ।
समूह ‘ए’बाट जिम्बावे ४ खेलमा अपराजित रहँदै सुपर सिक्समा पुगेको छ । नेदरल्यान्ड्स र वेस्टइन्डिज पनि सुपर सिक्समा पुगेको छ । यी दुई देशबीचको खेल जारी हुँदा नजितापछि दोस्रो र तेस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।
नेपालले प्लेअफमा आयरल्यान्ड र युएई मध्य एक टोलीसँग खेल्नेछ । समूह ‘बी’मा आयरल्यान्ड र युएई सुरुवाती तीनै खेलमा हारका साथ चौथो र पुछारमा छन् । मंगलबार यी दुई देशबीचको विजेताले चौथो र पुछारमा रहने टोली निर्धारण गर्नेछ ।
नेपालले समूह ‘बी’को पुछारको टोलीसँग २ जुलाईमा खेल्नेछ । नेपाल उक्त खेलमा विजयी भएमा सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । पराजित भएमा नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । अमेरिकाले ३० जुनमा समूह बी मा चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीले सातौं र पराजित हुने टोलीले नवौं स्थानको लागि भिड्नेछन् । प्लेअफ ७ देखी १० स्थान निर्धारण गर्न हुनेछ ।

प्रतिक्रिया