बिहीबार, जेठ २, २०८२

पानीको बहाव थेग्न नसकेपछि ‘डाइभर्सन’ अधुरै

नेपालखोज २०८० असार १२ गते १०:४३

पाँचथर । बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन ।

सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो । सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन नसकेको छैन ।

ठाडो खोला भएका कारण पानीको बहाव थेग्न नसक्दा ‘डाइभर्सन’मा ‘ह्युमपाइप’ अडिन नसकेपछि ‘डाइसर्भन’ अधुरो भएको हो । सोमबार अपराह्न १२ वटै ह्युमपाइपलाई जोडेर छवटा प्रवाहमा पानी हाल्ने प्रयास गरिएको थियो । तर पानीको बहावका कारण पाइप धसिएपछि ‘डाइभर्सन’ अनिश्चित भएको हो ।

डाइभर्सन सञ्चालनका लागि थप ह्युमपाइप खोजी गरी खोलाको पानीलाई थप दुई प्रवाहबाट अघि बढाउन सडक डिभिजन कार्यालय इलाम सामग्री जुटाउनतर्फ लागेको छ ।

‘बहावका कारण ह्युमपाइप नअडिँदा डाइभर्सनलाई पूर्णता दिन सकिएन’, सडक भिडिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले भने , ‘थप ह्युमपाइप ल्याई चाँडोभन्दा चाँडो डाइभर्सन सञ्चालन गर्छौँ ।’

यस्तै पानीको बहावलाई कमजोर बनाउन डाइभर्सन नजिकै ढुङ्गा राखेर अवरोध बनाउने प्रयास पनि गरिने उनले जानकारी दिए । आज बिहान थप ह्युमपाइप डाइभर्सनमा राख्ने काम थालिएको छ ।

यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि जिल्लाका हिलिहाङ र याङ्वरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्कविच्छेद भएको छ ।

सडक सम्पर्क टुटेपछि मेची राजमार्गमा अत्यावश्यक कामले यात्रा गर्ने यात्रु तथा बिरामीले फड्के र तुइनको सहाराले खोला तर्दै आएका छन् । खाद्य सामग्रीको आयात तथा कृषिजन्य उपज र दुग्धजन्य पदार्थको निर्यात प्रभावित बनेको छ ।

तीन दिनदेखि जारी डाइभर्सन निर्माण आज पूरा हुने सूचना पाएपछि मेची राजमार्गको विभिन्न स्थानमा अड्किएर बसेका सवारीसाधनलाई हेवाखोला हिलिहाङ–७ भारपातर्फ राखिएको थियो । तर डाइभर्सन नखुलेपछि सवारीको चाप देख्न सकिन्छ भने सवारी चालक तथा सहचालक सवारीमै बस्नुपर्ने बाध्यता आइपरेको छ ।

डाइभर्सन सञ्चालनका लागि सडक डिभिजन कार्यालय इलामका प्राविधिक, हेवाखोला क्षेत्रका स्थानीयवासी, सुरक्षाकर्मीलगायत निर्माणमा सक्रियतापूर्वक लागेका छन् । तर ह्युमपाइप कम हुनुका साथै पानीको बहाव उच्च भएका कारण डाइभर्सन निर्माण पूरा हुन नसकेको हो ।

सडक डिभिजन कार्यालय इलामले विभिन्न स्थानबाट ह्युमपाइप सङ्कलन गरी ल्याएको थियो । अहिले भने जिल्लास्थित जलविद्युत् आयोजना र सडक आयोजनाबाट ह्युमपाइप सङ्कलन थालिएको हो ।

प्रतिक्रिया