गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । सात सदस्यीय प्रतिनिधिमण्डलसहित गएराति मन्त्री श्रेष्ठ चीन प्रस्थान गरेका हुन् ।
उनी आज ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुनेछन् । उक्त मेलाको उद्घाटन गरी दिउँसाे छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
आजै चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजमा सहभागी हुनेछन् । उनले शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नेछन् । उनले त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्नेछन् ।
त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्ने तालिका छ ।
शनिबार भुकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’, दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन् ।
शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११:१० बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

प्रतिक्रिया