क्रिकेट विश्वकप छनोट : भोलिदेखि सुपर सिक्सको खेल

काठमाडौं । हाल जिम्बावेमा २०२३ ओडिआई विश्वकपका छनोट खेलहरू सञ्चालन भइरहेका छन् । त्यसमा नेपालसहित १० टिम सहभागी थिए तर अहिले चार टिम छनोट चरणबाटै बाहिरिसकेका छन् ।
उल्लेखनीय कुरा के छ भने आयरल्यान्ड, नेपाल, युएई र अमेरिकाको २०२३ को एक दिवसीय विश्वकप खेल्ने सपना अधुरो रह्यो । यी टिम छनोट चरणबाटै बाहिरिएका छन् । अब भारतमा हुने एक दिवसीय विश्वकपको मुख्य खेलमा पुग्न ६ टिमबिच भिडन्त हुनेछ ।
सुपर–६ मा पुग्नेहरू
चार टिम छनोट चरणबाट बाहिरिए पनि ६ वटा टिम सुपर–६ मा पुगेका छन् जसमा श्रीलङ्का, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड, ओमान तथा वेस्ट इन्डिज छन् । लिग चरणका चार खेल बाँकी रहे पनि शीर्ष ६ को तस्बिर भने स्पष्ट भइसकेको छ ।
सुपर–६ का खेल असार १४ (जुन २९) देखि खेलाइनेछ भने यसको फाइनल असार २४ (जुलाई ९)मा हुनेछ । छनोटबाट दुई टिम विश्वकपको मुख्य खेलका लागि छनोट हुनेछन् ।
२०२३ ओडिआई विश्वकप १० देश बिच खेलाइनेछ । यसका लागि आठ देश प्रत्यक्ष रूपमा छनोट भएका छन् भने अन्तिम दुई देश छनोट चरणबाट त्यहाँ पुग्नेछन् ।
प्रत्यक्ष रूपमा छनोट भएका आठ टिममा आयोजक भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया तथा इङ्गल्यान्ड छन् । २०२३ को एक दिवसीय विश्वकप अक्टोबर–नोभेम्बरमा भारतमा हुँदै छ ।

प्रतिक्रिया