बुधबार, जेठ १, २०८२

दाताको भरमा ७२ वर्ष पुरानो गौशाला

नेपालखोज २०८० असार १४ गते ८:०१

काठमाडौं । झापाको पुरानो गौशालाको रुपमा परिचित भद्रपुर गौशाला अझै दाताकैभरमा सञ्चालनमा छ ।

अपाङ, अशक्त र बुढा गाईलाई संरक्षण गर्ने उद्देश्यले २००९ सालमा स्थापना गरिएको उक्त गौशालालाई सरकारीस्तरबाट सहयोग नहुँदा दाताकैभरबाट सञ्चालन भएको हो ।

गौशालाको सुरुआत भद्रपुरका भवानीशङ्कर मित्रुका, मुक्तिध्वज जोशी, जनार्दन शर्मा र जगदीश मिण्डाले गरेका हुन् । गौशाला व्यवस्थान समितिका अध्यक्ष राजेन्द्रप्रसाद चापागाईंका अनुसार गौशाला सञ्चालनका लागि तत्कालीन समयमा भद्रपुरमा स्व मित्रुकाले २५ बिघा, जोशीले तीन बिघा र शर्माले साढे तीन कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । आठ कठ्ठा जग्गा शर्माबाट खरिद गरिएको थियो ।

सोही जग्गामध्ये भद्रपुर नगरपालिका–५ मा साढे ११ कठ्ठा जग्गामा गौशाला सञ्चालनमा आएको छ । अन्य २० बिघा जमिन ठेक्कामा लगाइएको छ भने बाँकी छ बिघामा गौशाला सार्ने तयारी भइरहेको अध्यक्ष चापागाईले बताए ।

गोठमा हाल एक सय १३ उन्नत र स्थानीय जातका गाईबाच्छा छन् । गौशालामा भएका गाईमध्ये शिवसताक्षी धामस्थित गोलक गोवद्र्धन गौशालाका प्रमुख नन्दकिशोर भारद्वाजको सहयोगमा केही वर्षअघि दिल्लीबाट ल्याइएका उन्नत जातका जर्सी, गीरा, साइबल, हरियाना र इलामे जातका गाई छन् । हाल झापामा दुई गौशाला छन् ।

यिनै गाईको दूधबाट वार्षिक रुपमा गौशालाले २४ लाख र गोबर बिक्रीबाट छ लाख आम्दानी भइरहेको छ । चापागाईका अनुसार गौशाला सञ्चालनका लागि वार्षिक ७२ लाख खर्च हुने गरेको छ ।

उनले गाईवस्तुको हेरचाहमा दैनिक १० जना तथा एक पशु चिकित्सकलाई मासिक तलब दिएर राखेको बताए । गाईको दाना, पराल, बिरामी हुँदा उपचार र कर्मचारी खर्चमा वार्षिक ७२ लाख खर्च हुने गरेको चापागाईले बताए ।

गोठ आधुनिक खालको छ । हरेक गाईका डुढमा पानीको धारा जडान गरिएको छ । गाईलाई गर्मी र लामखुट्टेबाट जोगाउनका लागि पङ्खाकोसमेत व्यवस्था गरिएको छ । यी सबै संरचना दाताको सहयोगबाट नै बनेको उनको भनाइ छ ।

‘सेवा नै धर्म हो भन्ने हाम्रो अभिप्राय हो’, चापागाईले भने, ‘तर खर्चले धान्नै गाह्रो भयो । यहाँबाट हुने आम्दानी भन्दा बढी दाताको सहयोगबाट चलिरहेको छ । सरकारको सहयोग छैन ।’

गौशाला सञ्चालनका लागि वार्षिक रु १८ लाख जगदीश मिण्डाले सहयोग गर्दै आएका छन् । उन जस्तै अन्य दाताले समेत वर्षेनि ५० हजारदेखि रु एक लाखसम्म सहयोग गर्दै आएका छ । हाल गौशाला सञ्चालनमध्येका जगदीश मिण्डा मात्र जीवित छन् ।

उनी दैनिकजसो गौशालामा पुग्ने र गाईबस्तुलाई सुसुम्याउने र समस्या बुझ्ने गरे । ‘गौमाता भनेपछि मरिहत्ते गरे’, चापागाईले भने, ‘गाईको सेवाका लागि उनले वर्षेनि एक्लै १८ लाख सहयोग गरे ।

मिण्डाको नेतृत्वमा २०७४ सालमा गौशाला परिसरमा दाताको सहयोगमा सङ्कलन गरिएको ८० लाखको लागतमा कृष्ण मन्दिर, आधुनिक गोठ, कार्यालय, सन्त आवासलगायत संरचना निर्माण गरिएका छन् । गोठ सार्न समस्या हाल भद्रपुर नगरपालिका–५ स्थित गाईगोठ साँघुरो भएको चापागाईले बताए ।

तस्करले भारततिर लैजाँदै गरेका गाई प्रहरीले पक्रेर ल्याउँदा राख्ने ठाउँको अभाव भएको हुँदा खुल्ला र फराकिलो स्थानमा गोठ सार्न आर्थिक अभाव छ । अध्यक्ष चापागाईले आगामी आर्थिक वर्षमा भद्रपुर–४ मा छ बिघा जमिनमा गाईको गोठ सार्ने तयारी भइरहेको बताए ।

‘हाल ११ कठ्ठा जमिनमा भएको गौशाला साँघुरो हुँदा पराल र गोबर व्यवस्थापनमा समस्या भइरहेको छ’ उनले भने । गोठ सार्न करिब रु दुई करोड बढी लाग्ने अनुमान गरिएको छ । ‘बजेट छैन । गोठ नसारी भएको छैन”, चापागाईले भने, ‘स्थानीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ ।’

प्रतिक्रिया