शुक्रबार, असार ६, २०८२

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालखोज २०८० असार १६ गते २०:४३

छेन्दु (चीन) । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताए ।

जनवादी चीनको भ्रमणमा रहेका उनले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताए । ‘कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ ।पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न उच्च तहका पदाधिकारी भ्रष्टाचार गर्ने अपराधमा नियन्त्रणमा लिनु परेकोछ’, उनले भने ।

कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गरे ।

मुलुक र जनतालाई ठगी गर्ने, धोका दिने, अपराध गर्नेलाई वर्तमान सरकारले कुनै पनि हालतमा नछाड्ने विश्वास दिलाउँदै उनले अपराध गर्नेलाई कानुनको दायरमा ल्याइ छाड्ने प्रतिबद्धता व्यक्त गरे । ‘अपराध कसले गरेको छ, त्यसलाई कानुनको दायरामा ल्याइ छाड्छौँ, देशमा सुशासन स्थापित गरी छाड्छौँ । यो हाम्रो सङ्कल्प हो’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘त्यसले विकास र प्रगतिका निम्ति नयाँ आधार तयार पार्छ । देशमा एउटा आशा पैदा हुन्छ ।’

सुशासन कायम गर्दै मुलुकलाई सुशासनको मार्गमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले विभिन्न कारणबाट विदेशीएका नेपालीलाई स्वदेश फर्काउने वातावरण निर्माण गरिने बताए । विकास र समृद्धिको लक्ष्य पूरा गर्नका निम्ति आफ्नै बलबुतामा काम गर्नुपर्नेमा जोड दिँदै उनले समृद्धिका विदेशी मित्रको सहयोगको अपेक्षा गरेको बताए ।

आफूले चीन भ्रमणका क्रममा भएका दिपक्षीय भेटवार्तामा नेपालको समृद्धिका बारेमा छलफल गरेको जानकारी दिँदै उनले भने, ‘हाम्रै बुद्धि, विवेक र श्रम पसिना लगाएर विकासको यात्रालाई अगाडि बढाउनुपर्नेमा हाम्रो मात्रै साधन स्रोतले विकासका कुरालाई तीव्र पारेर लक्ष्यमा पुग्न सम्भव छैन ।’

प्रतिक्रिया