शुक्रबार, पुष ११, २०८२

म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबल

नेपालखोज २०८० असार १६ गते २२:१५

कास्की । म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको आज भएको फाइनलमा पर्वतलाई ३-२ सेटले पछि गर्दै म्याग्दी च्याम्पियन बनेको हो ।

उपाधि विजेता म्याग्दीले ट्रफीसहित रु एक लाख पुरस्कार प्राप्त गर्दा उपविजेता पर्वतले रु ७० हजार पुरस्कार प्राप्त गरेको छ । म्याग्दीले पर्वतलाई पहिलो, चौथो र पाँचाैँ सेटमा क्रमश : २५-१६, २५-१७ र १५-११ को अन्तरले पराजित गरेको हो । दोस्रो र तेस्रो सेटमा पर्वतसँग म्याग्दी २५-२१ र २५-१७ को अन्तरले पराजित भएको थियो ।

पर्वतकी पूजा ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि पाइन् । म्याग्दीका टिम क्याप्टेन पवित्रा सिर्पालीले बेष्ट स्पाइक र रेविना घर्तिले वेष्ट सेटरको उपाधि जितिन् । यही असार १४ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाको सहभागिता थियो ।

प्रतियोगिताले गण्डकी प्रदेशमा महिला खेलाडी उत्पादनमा जोड दिने लक्ष्य राखिएको छ । विजयी खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली (सुविन) लगायतले पुरस्कार वितरण गरेका थिए।

पछिल्लो समय म्याग्दीका खेलाडीहरुले प्रदेश र राष्ट्रियस्तरको प्रतियोगितामा प्राप्त गरेको सफलताले जिल्लाका खेलप्रेमीहरु उत्साहित भएको भौतिक पूर्वाधारमन्त्री जुग्जालीले बताए ।

प्रतिक्रिया