भैरहवामा कायापलटको शुरुवात

पाल्पाका राजा मणिमुकुन्द सेनको राज्य निकै बलियो र ठूलो राज्य थियो । मकवानपुर देखि पाल्पा सम्म रहेको उनको राज्य बिस्तार गर्ने सपना स्वरुप उपत्यकामा पनि आक्रमण गर्ने सपना देख्न थालेका थिए राजा मणिमुकुन्द सेनले ।
वि.सं. १५७५ मा राजा बनेका थिए । २० वर्षे युवा राजा पूर्ण जोश र जाँगरका साथ राज्य बिस्तार तर्फ लागेका थिए । उनकै शासनकालमा सेन राज्य यति बिशाल भयो कि यस राज्य भित्र नेपालको प्रमुख धामहरु वराह क्षेत्र, मुक्ति क्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्र सबै उनकै राज्य भित्र परेको थियो ।
यस्तैमा उनले काठमाडौ उपत्यका पनि विजय गर्ने सपना देख्न थाले । उपत्यका विजयका लागि बिभिन्न योजनाहरु बुन्न थाले । उनले कीर्तिपुर आक्रमण गरि थानकोट तथा बुङ्मति प्रवेश गर्ने र पाटन माथि आक्रमण गर्ने योजना बनाए ।
यहि योजना कार्यान्वयन गर्ने मनसायले कीर्तिपुर तर्फ अगाडि बढिरहँदा राजालाई सपनामा बुङमतिको प्रख्यात भैरव ह्यगृव भैरव आएर बुङ्मतिमा पाइला नटेक्न तथा उपत्यका विजयको सपना नदेख्न चेतावनी समेत दिए ।
सपनामा ह्यगृव भैरवले चेतावनी दिए पछि केही बेर त हच्किए तर चक्रवर्ति बन्ने सपना देखेका राजा मणिमुकुन्द सेनका लागि झन चुनौती भयो । भोलिपल्ट ठूलो सैनिक दलबल सहित बुङ्मति पुगे र ह्यगृव भैरवको मुर्ति उखेल्न लगाए ।
सैनिकहरुले भैरवको मुर्ति उखेल्न सफल भए पछि पाल्पा तर्फ लगे । तर ह्यगृव भैरवले सपनामा जे चेतावनी दिएका थिए । त्यसको असर देखियो । मुर्ति उखेल्ने तथा बोकेर लैजाने सैनिकहरु विमार भए । कोहीको मृत्यु पनि भयो । राजा मणिमुकुन्द सेन स्वयं विमार भए ।
ह्यगृव भैरवको मुर्ति राख्न पाल्पामा मन्दिर पनि बनाए । अहिलेको भैरहवामा भैरवको पूजाका लागि गुठीको ब्यबस्था समेत गराए । भैरवको गुठी रहेको हुँदा यस ठाउँको नाम भैरव गाँउ रहन गयो । तर पछि भैरवको शक्तिका अगाडि राजा डराए ।
क्षमा पूजा गरेर मुर्ति फेरी बुङ्मतिमा नै स्थापना गराए । ह्यगृव भैरवको मुर्ति स्थापना गर्न नपाए पनि त्यस मन्दिरमा ह्यगृव भैरवको प्रतिमुर्ति स्थापना गरे । भैरवको गुठी बनाएको भैरव गाउँ बिस्तारै भैरहवा भयो ।
२०११ सालतिर डा. के.आइ.सिंह र काशी प्रसाद श्रीवास्तवको पहलमा भैरहवामा विमानस्थल तैयार भयो । हालको शान्तिनगरमा बनाइएको विमानस्थलमा त्यो बेला काठमाडौ र पोखराबाट डकोटा विमान आउने गर्दथ्यो ।
पछि २०२१ सालमा विमानस्थल अहिलेको ठाउँमा सरे पछि शान्तिनगरमा भैरहवा बहुमुखी क्याम्पस स्थापना भयो । २०२२ सालमा पोखरा जोड्ने एसपीआरको शुरुवात भयो ।
सुनौली पोखरा राजमार्थ नाम दिइएको यस राजमार्गको पछि सिद्धार्थ राजमार्ग नामाकरण भयो । एसपीआरको शुरुवात संगै बुटवलको मुख्य ब्यापार सबै भैरहवामा सर्यो । यसरी भैरहवाको कायापलटको शुरुवात भयो ।
प्रतिक्रिया