आइतबार, पुष ६, २०८२

विस्थापन असुरक्षित छ

नेपालखोज २०८० असार १७ गते ११:५७

शरणार्थी तथा आप्रवासीहरूले नयाँ जीवनको खोजीमा यात्रा गर्दा धेरै ठूलो जोखिमको सामना गर्छन् ।

उनीहरू भोक , रोग र हिंसासँग संघर्ष गर्छन् । ती मध्ये धेरैले पैसा तिरेर आफ्नो ज्यान जोखिममा पार्छन् । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को मिसिङ माइग्रेसन प्रोजेक्टबाट प्राप्त जानकारी अनुसार सन् २०१४ देखि २०२२ सम्ममा कम्तीमा ५० हजार मानिस यस्तै क्रममा मारिएका वा बेपत्ता भएका छन् ।

यसमा आधाभन्दा बढी मृत्यु र बेपत्ता भूमध्यसागरको बाटोमा भएको थियो । सन् २०१४ देखि लिबिया, इजिप्ट वा मोरक्कोबाट समुन्द्र पार गरेर युरोप जान खोज्दा २६ हजार भन्दा बढी शरणार्थी समुद्रमा डुबेका छन् ।

यो तथ्याङ्कले भूमध्यसागरलाई संसारको सबैभन्दा खतरनाक प्रवासी मार्ग बनाउँछ । दोस्रो सबैभन्दा खतरनाक क्षेत्र अफ्रिका विशेष गरी सहारा मरुभूमि हो ।

अमेरिकी महादेशमा पनि दक्षिणबाट उत्तरतर्फको बसाइँसराइलाई जोड दिइएको छ । होन्डुरस, ग्वाटेमाला, भेनेजुएला , हाइटी जस्ता देशमा गरिबी, हिंसा तथा राजनीतिक संकटका कारण मानिसहरूले आफ्नो घर छाडिरहेका छन् ।

उनीहरूका लागि अन्तिम र सबैभन्दा खतरनाक बाधा मेक्सिको सीमाना हो जसलाई पार गरेर उनीहरू अमेरिका प्रवेश गर्न खोजिरहेका छन् ।

अक्टोबर २०२१ देखि अक्टोबर २०२२ सम्म अमेरिकी सीमा सुरक्षा बलले अबैध रुपमा आफ्नो देशमा प्रवेश गर्ने २० लाख भन्दा बढी प्रयास रेकर्ड गरेको छ – त्यो पनि प्रायः खतरनाक अवस्थामा ।

आईओएमको प्रतिवेदन अनुसार गत वर्ष एसिया महादेशमा पनि हजारौंको ज्यान गएको थियो । अधिकांश म्यानमारका रोहिंग्या वा अफगान थिए । यता अरब प्रायद्वीपमा मर्नेहरुमा पूर्वी अफ्रिकी शरणार्थीहरू पनि थिए ।

प्रतिक्रिया