राजधानीको मुटुकै आकाशेपुल अलपत्र

काठमाडाैं । पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गरेका थिए । पुलको शिलन्यास गरिएपनि निर्माण नहुँदा अलपत्र बनेको हो ।
आकाशेपुल निर्माणका लागि तोकिएको स्थानको माथि ‘हाइटेन्सन लाइन’ देख्दादेख्दै ‘साइड क्लियर’ नगरी शिलान्यास गरिएको स्थानीय रवि ढुङ्गेलले दिए । शिलन्यास गर्दादेखि यस स्थानमा आकाशे पुल निर्माण उपयुक्त नहुने भनी आवाज उठाएकामा सुनुवाइ नहुँदा निर्माण अलपत्र भएको उहाँको भनाइ थियो । ढुङ्गेलका अनुसार चुनावी वर्षमा सस्तो लोकप्रियताका लागि गरिएको कामले अहिले पैदल यात्रु अप्ठ्यारोमा पर्ने गरेका छन् ।
महानगरपालिका निर्माण विभागका प्रमुख रामबहादुर थापाले हाइटेन्सन लाइन नहटेकाले काम पूरा गर्न समस्या भएको बताए । उनका अनुसार पुल निर्माणका लागि विभागले ठेक्का गरेको हो । काठमाडौं महानगरपालिका वडा नं ७ को कार्यालयअगाडि नै निर्माण सुरु गरिएको उक्त पुल वर्षौंदेखि अलपत्र बनेको छ । पुलको डिजाइनमा केही परिवर्तन गरेर काम अगाडि बढाउने गरी माग गरिएको अध्यक्ष विमलकुमार होडाले जानकारी दिए । उनका अनुसार वडाले अपाङ्गता भएका व्यक्तिलाई पनि सहज हुने गरी पुलमा लिफ्ट राख्नुपर्ने प्रस्ताव गरेको छ ।
मित्रपार्क चोकमा निर्माणाधीन आकाशेपुल सम्पन्न भए दैनिक पशुपतिनाथ मन्दिर आवतजावत गर्ने धेरै भक्तजन तथा पैदल यात्रुलाई सहज हुने स्थानीयको भनाइ छ । वर्षौंदेखि अलपत्र बनेको पुल निर्माणमा सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय मैना भण्डारीले गुनासो गरिन् ।
प्रतिक्रिया