मंगलबार, वैशाख २३, २०८२

बेलिब्रिज निर्माण पन्ध्र दिनमा

नेपालखोज २०८० असार १९ गते १८:१५

काठमाडाैं । मेची राजमार्गअन्तर्गत बाढीले बगाएको हेवा खोला पुलको विकल्पमा निर्माण भइरहेको बेलिब्रिज निर्माण १५ दिनमा सम्पन्न हुने भएको छ ।

अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक विभागले जनाएको छ । यही असार ३ गते आएको बाढीका कारण कोशी प्रदेशका तीन वटा पुलमा क्षति पुगेको विभागका उपमहानिर्देशक रामहरि पोखरेलले जानकारी दिए ।

उनका अनुसार मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी राजमार्गका पुल बगाएको हो । तीमध्ये तमोर करिडोरमा बेलिब्रिज थियो भने मेची राजमार्ग र मध्यपहाडी एउटा÷एउटा पुल बगाएको छ । उनले भने, ‘त्योमध्ये पनि धेरैलाई प्रभावित गर्ने भएकाले मेचीको पुल सबैभन्दा पहिले सुरु गरिएको छ ।’ मेची राजमार्गमा बेलिब्रिज निर्माणको काम बाढी आएको भोलिपल्टबाट नै सुरु भएको थियो । एकातिर जग (फाउण्डेसन) तयारी भइरहेको छ । अर्काेतिर बेलिब्रिज पनि फिट गर्दै गरिने उनले बताए ।

अहिले पनि नदी ठूलो भएकाले सामान वारपार गर्न गाह्रो अवस्था रहेको सडक विभागले जनाएको छ । मेची राजमार्गको यो पुल नबनेकाले यातायात नै ठप्प भएकाले प्राथमिकता अहिले त्यसैलाई दिइएको उनले बताए । अरु दुई ठाउँमा पानी कम भएपछि बेलिब्रिज राखिने योजना रहेको उनले बताए ।

प्रतिक्रिया