बुधबार, जेठ २, २०८१

आजबाट अमेरिका केमिकल हतियारमुक्त देश बन्दै, नष्ट गर्न मात्रै ५० खर्ब रुपैयाँ

नेपालखोज २०८० असार २२ गते ११:३४

काठमाडौं । आज (शुक्रबार) देखि अमेरिका केमिकल हतियारमुक्त देश बन्ने भएको छ। ७० वर्षदेखि केमिकल हतियार भण्डारण गर्दै आइरहेको अमेरिकाले आज केमिकल हतियार नष्ट गर्न लागेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

रक्षा विभागलाई हतियार नष्ट गर्न झन्डै ५० खर्ब रुपैयाँ लागेको बताइएको छ, जुन विनियोजित बजेटभन्दा २९०० प्रतिशतले बढी हो। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बरसम्म केमिकल हतियार नष्ट गर्ने घोषणा गरेका थिए।

सन् १९७० को दशकमा अमेरिकी सेनाले केमिकलयुक्त हतियारलाई पुरानो जहाजमा लोड गरेर समुद्रमा डुबाउन चाहेको थियो। यद्यपि जनताले विरोध गरेपछि त्यो कदम स्थगित भएको थियो। पछि ती हतियार फरनेसमा हालेर जलाउने प्रस्ताव राख्दा यो प्रस्ताव पनि अस्वीकृत भएको थियो।

हाल अमेरिकाले केमिकलयुक्त हतियार नष्ट गर्न रोबोट मेसिनको सहयोग लिएको छ। सेल्समा राखिएका यी हतियार खोलेर, धोएर र सुकाएर १५० डिग्री तापक्रममा जलाइएको न्युयोर्क टाइम्समा खबर छ।

केमिकल हतियार परीक्षणमा ५६०० भेँडाको मृत्यु

१९८१ पछि अमेरिकी सेनाले युद्धमा घातक रासायनिक हतियार प्रयोग गरेको छैन। तर भियतनाम युद्धका बेला भने एजेन्ट ओरेन्जजस्ता केमिकलयुक्त हतियार प्रयोग भएका थिए, जो मान स्वास्थ्यका लागि हानिकार मानिन्छ।

१९८९ मा अमेरिका र सोभियत संघ आआफ्ना रासायनिक हतियारको भण्डार नष्ट गर्न सहमत भएका थिए। तर यो त्यति सजिलो काम थिए। केमिकलयुक्त हतियार नष्ट गर्ने एउटै उपाय भनेको जलाउनु थियो। जलाउँदा पनि विषालु धुवाँ निस्कने र त्यसलाई असरलाई नियन्त्रण गर्न गाह्रो हुन्छ।

१९८६ मा अमेरिकी राज्य उटाहमा ५६०० भेँडा मरे। उक्त स्थान केमिकल परीक्षण गरेको ठाउँनजिकै थियो। अमेरिकी कंग्रेस (संसद्) को दबाबपछि सेनाले भिएक्स नामक केमिलक परीक्षण गरिरहेको बताएको थियो। उनीहरुसँग आठ राज्यमा केमिकलयुक्त हतियार भण्डारण थिए।

रुसले २०१७ मै नष्ट गरेको थियो

रुसले २०१७ मा आफ्ना केमिकल हतियार नष्ट गरेको बताएको छ। तर युक्रेन युद्ध सुरु भएपछि बेलायतले रुसले युक्रेनमाथि केमिकल हतियार प्रयोग गर्न सक्ने आशंका जताएको थियो। उता रुसले पनि अमेरिकालाई युक्रेनमा केमिलर र बायोलोजिकल हतियार बनाएको आरोप लगाएको थियो।

चीनले भने आफूले केमिकल हतियार नबनाएको दाबी गरेको छ। दोस्रो विश्वयुद्धका बेला चीनमा जापानिज सेनाले छोडेको केमिकल हतियारको भण्डारण थियो। तिनलाई पछि नष्ट गरिएको बताइएको छ।

केमिकल हतियार के हो ?

अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल विपन्सका अनुसार हानिकार केमिकल प्रयोग गरी जानाजान मान्छेलाई मार्न या क्षति पुर्याउन बनाइने चिज हो केमिकल हतियार। यसले क्षणभरमा हजारौं मान्छेलाई एकैसाथ मृत्युको मुखमा धकेलिदिन सक्छ। साथै विभिन्न खतरानक रोगका कारण मान्छेलाई तड्पीतड्पी मर्न पनि बाध्य गराउँछ।

केमिकल हतियार बायोलोजिकल हतियारभन्दा भिन्न हुन्छ। बायोलोजिकल हतियारमा ब्याक्टेरिया र भाइरसमार्फत मानिसलाई मारिन्छ या बिरामी बनाइन्छ। केमिकल हतियार सामूहिक विनाशकारी हतियारको श्रेणीमा पर्छ। –INS

प्रतिक्रिया