छाडा कुकुर मानिसको साथी कि शत्रु ?

मानिसको केही प्रजातिका जीवजन्तुसँग बिशेष आत्मीयता हुन्छ । सायद यही कारण हो आवारा कुकुर , बाँदर र परेवा सधैं हामी नेपालीको जीवनको हिस्सा बनेका छन् । यद्यपि पछिल्ला दशकहरूमा सहरहरूमा तिनको संख्यामा ठूलो वृद्धि भएको छ । साच्चै भन्ने हो भने तिनको संख्या यति धेरै बढेको छ कि मानव सुरक्षामा समेत खतरा उत्पन्न भएको छ ।
कुकुर र बाँदरको टोकाइबाट लाग्ने रेबिजजस्ता जुनोटिक रोग र फोक्सोसँग सम्बन्धित रोग पहिले कहिल्यै नभएको दरमा बढ्दै गएको छ भने परेवाका कारण पनि मानिसहरु संक्रमित हुँदै आएका छन् । सहरमा पाइने यी प्रजातिको व्यवहारमा पनि परिवर्तन देखिएको छ । उनीहरूले आफूलाई सहरी व्यवस्थाअनुसार ढालिरहेका छन् । शान्तिपूर्ण सहअस्तित्वका लागि तिनीहरूको संख्या नियन्त्रण मात्र पर्याप्त हुँदैन ।
यसका लागि मानवले पनि आफ्नो व्यवहार परिवर्तन गर्न आवश्यक छ ताकि यी परोपकारी जनावरहरू शहरका लागि खतरा नबनुन । नेपालसहित विश्वभर प्रतेक वर्ष कुकुरको टोकाइका लाखौं घटना दर्ता हुन्छन् । त्यस्ता बढ्दो घटनालाई ध्यानमा राख्दै कतिपय सरकारहरुले मानिसमा हुने रेबिजका सबै प्रकारका केस दर्ता गर्न अनिवार्य गरेका छन् । त्यसपछि गरिएका रेकर्डमा प्रतेक वर्ष रेबिजका घटना बढेको पाइन्छ ।
रेबिज एउटा भाइरल रोग हो जसले केन्द्रीय स्नायु प्रणालीलाई संक्रमित गर्दछ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भन्छ – यो सतप्रतिसत घातक हुन्छ। डब्लुएचओका अनुसार एसिया र अफ्रिकामा १५ वर्ष मुनिका बालबालिकाको मृत्युको ४० प्रतिशत कारण रेबिज हुन्छ । रेबिजको रोकथाम खर्चिलो रणनीति हो भने कुकुरको टोकाइले हुने रेबिज लागि सके पछि मृत्यु त्यति टाढा हुँदैन । यस्ता घटना धेरै छन् तर अधिकाश घटना जानकारिमा आउँदैनन् । रोकथामका उपायहरूबारे चेतनाको कमी, पोस्ट –एक्सपोजर प्रोफिलेक्सिस सम्बन्धि कम जानकारी, रेबिजविरुद्धको भ्याक्सिन र इम्युनोग्लोबुलिन जस्ता औषधिहरूको अनियमित उपलब्धता र तिनको महँगो मूल्य, पहुँचभन्दा बाहिर हुने र कमजोर अनुगमन प्रणालीका कारण यो समस्या ओझेलमा छ भने यसको रिपोर्टिङ पनि कम छ ।
एक सर्वेक्षण अनुसार ६० प्रतिशत परिवारले आफ्नो इलाकामा कुकुरको आक्रमण बढ्दै गएको महसुस गरेका थिए। संसारका धेरैजसो ठाउँमा पशुलाई बचेको खाना ख्वाउने चलन छ । संस्कृत नाटक मृच्छकटिकममा कालिदासले बाँकी रहेको खाना कुकुरलाई ख्वाउनु पर्ने बताएका छन् । यद्यपि अहिले यो मनोवृत्ति परिवर्तन आएको छ र पछिल्ला दुई दशकमा पशु प्रेमीहरूले आवारा कुकुरहरूलाई घरबारविहीन मानिसहरू जस्तै व्यवहार गर्न थालेका छन् । मानिसहरूले उनीहरूलाई (छाडा कुकुर) ख्वाउन थालेका छन्, उनीहरूलाई आश्रय दिन र कम्बलसमेत दिन थालेका छन् ।
यसरी कुकुरहरूलाई सामान्य भन्दा बाहिर ख्वाउने प्रवृत्ति कुकुरहरूको यो आक्रामक व्यवहारको लागि जिम्मेवार हुन सक्छ। यहाँ अर्को समस्या पनि छ । सामान्यतया, कुकुरका छाउराहरूमध्ये १९ प्रतिशत मात्र वयस्कता उमेरसम्म बाँच्छन् । जब यसरि मानिसहरूले तिनको थप हेरचाह गर्छन् तिनीहरूको बाँच्ने दर बढ्छ । यसबाट के बुझ्न सकिन्छ भने छाडा कुकुरको नसबन्दि अभियान सुरु भए पनि उनीहरुको जनसंख्या भने घटने छैन । कुकुरलाई घरेलु र आवारा गरी दुई वर्गमा विभाजन गरिएको छ । यसमा घरपालुवा कुकुरको परिबार नियोजन र खोपको जिम्मेवारी कुकुर मालिकहरूको हुन्छ भने छाडा कुकुरको हकमा यो जिम्मेवारी स्थानीय प्रशासनको हुन्छ ।
नियम अनुसार कुकुरको संख्या घटाउन इच्छामृत्यु (दया मृत्यु) प्रयोग गर्न सकिँदैन, तर कुकुरलाई रोगको अन्तिम अवस्थामा यो उपाय अपनाउन सकिन्छ। कुकुरलाई रेबिज भएको पाइए पनि त्यसलाई युथनाइज गर्न सकिँदैन, तर प्राकृतिक मृत्यु (जो १० दिनमा हुनसक्छ) मर्नका लागि अलग्गै राख्नुपर्छ। हिंस्रक र खतरनाक छाडा कुकुरहरूलाई मार्न वा दया मृत्युको अधिकारका बारेमा पनि कुराहरु उठेका छन् । जुनोटिक रोगहरू देखा पर्दा संक्रमणबाट बच्न जनावर र चराहरूलाई मार्नु पर्ने तर्क पनि हुँदै आएको छ । आवारा कुकुरका लागि चिडियाखाना स्थापना गर्न पनि माग हुन्छ । हालको यो संकटमा सबैजना एकमत भए पनि यसको समाधानका लागि सुझावमा फरक-फरक राय छ ।
कतिपयले कुकुर मार्ने कार्यलाई समर्थन पनि गरेका छन । नेपाल सहित कुकुरलाई संसारभर मानवीय ढंगले मारिन्छ । आवारा कुकुरहरू (जो बिरामी वा आक्रामक छन्) लाई नेदरल्यान्डमा दया मृत्यु ( euthanized) दिईन्छ । वातावरणीय र आर्थिक दृष्टिकोणले यो सही पनि हो। कुकुरको अनियन्त्रित वृद्धिसँगै उनीहरु आक्रामक बन्दै गएका छन् । तर कतिपय कुकुर मार्ने विचारमा सहमत छैनन्। पहिले कुकुरको परिबारनियोजन चलन नभएका बेला सहरहरु तिर भुस्याहा कुकुर मार्ने अभियान नै चलाइन्थ्यो ।
यस्तो सामुहिक हत्याले मानिसहरूलाई हिंसात्मक बनाउँछ भन्ने उदाहरणहरू छन् । बेलायतको टिसाइड युनिभर्सिटीका अन्वेषकहरूले दया मृत्यु कुकुरहरूको ठूलो जनसंख्या भएको पूर्वी युरोपेली समुदायको अनुगमन गरे, जहाँ कुकुरहरूलाई नराम्ररी समातिएको थियो र या त विष दिएर मारिएको थियो वा अन्य क्रूर विधिहरूद्वारा मारिएको थियो । अन्वेषकहरूले उक्त समुदायमा कुकुरहरूको क्रूर हत्या र घरेलु हिंसाबीचको सम्बन्ध फेला पारे । सरकारहरुले यस्ता अलोकप्रिय विकल्पहरूमा विचार गर्नुपर्दछ अनि घरपालुवा जनावर तथा छाडा कुकुर सम्बन्धि कडा कानून लागू गर्नुपर्छ ।
प्रतिक्रिया