खोटाङ बन्यो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला

खोटाङ । खोटाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका १० वटै स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि आज जिल्लालाई औपचारिकरूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
सोह्र महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै प्रकारका ९१३ किसिमका० खोप लगाएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।
आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयक्तरूपमा हस्ताक्षरसमेत गरिएको छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा भएको घोषणासभामा संविधानसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राईले पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणासभाको अवसरमा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न सङ्घसंस्थालगायतलाई सम्मानसमेत गरिएको छ । उनीहरूलाई संविधानसभा सदस्य राईले अबिर लगाएर प्रमाणपत्रसहित सम्मान गरेका हुन्
घोषणासभा कार्यक्रमका वक्ताले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाका लागि आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हल दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा पूर्वसांसद कुलप्रसाद फुँयाल, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतको उपस्थिति थियो ।
प्रतिक्रिया