हिंसा र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा

काठमाडौं । बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, भाषिक विकासमा गम्भीर नकारात्मक असर पर्ने खालका काम, व्यवहार, भाषाको प्रयोग गर्नुलाई हिंसा र दुर्व्यवहार मानिन्छ । यसबाट उनीहरूको जीवन, स्वास्थ्य, विकास तथा स्वाभिमानमा नकारात्मक असर पर्छ ।
प्रारम्भिक बाल्यावस्थामा भोगेका हिंसा र दुर्व्यवहारको असर जीवनभर रहिरहन्छ र बालबालिकाको सर्वाङ्गीण विकासमा हानि गर्छ ।
बालबालिकालाई हुन सक्ने हिंसा र दुर्व्यवहार
बालबालिका प्रति हुन सक्ने हिंसा र दुर्व्यवहारहरूलाई यसको प्रकृतिका आधारमा छुट्याएर हेर्न सकिन्छ । तर यी एक आपसमा सम्बन्धित हुन्छन् र एउटै घटनाबाट बालबालिका माथि विभिन्न प्रकारका दुर्व्यवहारभइरहेको हुनसक्दछ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:
शारीरिक दुर्व्यवहार : बालबालिका माथि कुनै पनि बहानामा कुनै पनि ढङ्गले शारीरिक क्षति पुग्ने
जस्तैस् कुटपिट गर्ने, चिमोट्ने, कपाल तान्ने, एक खुट्टामा उभिन लगाउने, बाँध्ने, भित्तामा ठोक्काउने, घचेट्ने, पानी खन्याउने, पोलिदिने, तातोपानी खन्याउने, थुनेर राख्ने, घर निकाला गरिदिने, उमेर अमिल्दो कार्य गर्न लगाउने, खसाल्ने धम्की दिने, झट्कार्ने, हल्लाउने खालका दुर्व्यवहारलाई शारीरिक दुर्व्यवहारभनिन्छ ।
बेवास्ता र उपेक्षा : बालबालिकाको आधारभूत आवश्यकताबाट वञ्चित गराउने जस्तैः उमेरअनुसार, खाना नदिने, मौसमअनुसार वा सफा लुगा लाउन नदिने, बिरामी अवस्थामा उपचार नगर्ने आदि बालबालिकालाई बेवास्ता र उपेक्षा गर्ने क्रियाकलाप पनि हिंसा र दुर्व्यवहारमा पर्छ ।
शाब्दिक (मौखिक) दुर्व्यवहार : बालबालिकालाई सराप्नु, अपशब्द बोल्नु, नराम्रो नाम काढेर बोलाउनु, हीनताबोध गराउने, गाली, बेइज्जती गर्ने, जिस्काउनु जस्ता कुराहरू मौखिक दुर्व्यवहारभित्र पर्दछन् । जानेर नजानेर मौखिक दुर्व्यवहार भइरहेको हुन सक्दछ । कतिपय अवस्थामा यस्ता कुराहरूलाई हामीले सामान्य रूपमा लिइरहेका हुन्छौँ वा खासै वास्ता गरिएको हुँदैन । तर मौखिक रूपमा गरिएका दुर्व्यवहारले बालबालिकालाई मनोवैज्ञानिक असर परिरहेको हुन्छ ।
भावनात्मक तथा मानसिक दुर्व्यवहार : बालबालिकाको भावनामा चोट पुग्ने गरी अर्थात् बोलीचालीको भाषामा उसको मन दुख्ने गरी गरिने कुनै पनि क्रियाकलाप वा व्यवहारलाई भावनात्मक दुर्व्यवहार भन्न सकिन्छ । भावनात्मक दुर्व्यवहारले बालबालिकाको मानसिक स्वास्थ्य र सामाजिक विकासमा असर गर्दछ । जस्तैः बालबालिकालाई माया नदेखाउने, नबोल्ने, भावनामा चोट पुर्याउने, छोरा र छोरीको बिच भेदभाव गर्ने, सिकाइमा सहयोग नगर्ने, उत्प्रेरणा नगर्ने बालबालिकालाई विद्यालयमा भर्ना नगर्ने, खेल खेल्न नदिने, उपयुक्त खेल सामग्रीहरू नदिने आदि भावनात्मक तथा मानसिक दुर्व्यवहार हो ।
सजाय : बालबालिकालाई अनुशासनका नाममा घर वा विद्यालयमा माथिका क्रियाकलाप गर्नु सजाय हो ।
यौन हिंसा वा दुर्व्यवहार : कुनै वयस्क, पाको मानिस वा ठुलो बालबालिकाले अथवा आफू भन्दा केही शक्तिशाली व्यक्तिले बालबालिकामाथि यौन आशय झल्कने गरी गर्ने कुनै पनि कार्य तथा यौन आनन्दको निम्ति गरिएका छुवाइहरू वा सम्बन्धहरूलाई बाल यौन दुर्व्यवहार भनिन्छ । बालबालिकाको गोप्य अङ्गमा छुने वा वयस्कको गोप्य अङ्गमा छुन लगाउने तथा बालबालिकालाई बलात्कार गर्ने जस्ता क्रियाकलापलाई यौन हिंसा वा दुर्व्यवहार भनिन्छ ।
बालश्रम : बालबालिकालाई मानसिक, शारीरिक, सामाजिक तथा नैतिक रूपमा हानि पु¥याउने तथा शिक्षामा बाधा पुर्याउने जोखिमपूर्ण काम नै बालश्रम हो । जसले प्रचलित कानुनमा तोकिएको उमेरभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउने कार्यलाई जनाउँछ ।
बेचविखन तथा ओसारपसार : बालबालिकाको बेचविखन, अङ्ग तस्करी, श्रम शोषण तथा यौन क्रियाकलाप गराउने, आर्थिक फाइदाको प्रयोजनले धर्म सन्तान लिने र दिने, फिरौतीका लागि अपहरण गर्ने वा बन्धक बनाउने उद्देश्यले एकठाउँबाट अर्को ठाउँमा लैजाने कार्यहरू यस अन्तर्गत पर्दछन् ।
हिंसा र दुर्व्यवहारको असर
- गर्भवती अवस्थामा आमा प्रति गरिएको दुर्व्यवहारले शिशुको शारीरिक तथा मानसिक विकासमा प्रभाव पर्दछ ।
- बालबालिका त्रसित हुने, ओछ्यानमा पिसाब गर्ने, रिसाउने, जिद्दी गर्ने, हिंसात्मक रूपमा प्रस्तुत हुने, डाह गर्ने जस्ता नकारात्मक व्यवहार देखाउँछन् ।
- प्रारम्भिक बाल्यावस्थाका भोगाइहरू जीवनभरि मस्तिष्कमा रहिरहन्छ । यसले मस्तिष्ककोे न्युरोनहरूलाई क्षति गरी बालबालिकाको बौद्धिक सिपहरू कमजोर बनाउँछ र सिक्ने तथा सोच्ने क्षमतामा नकारात्मक असर गर्छ ।
- हिंसा, दुर्व्यवहारमा हुर्किएका बालबालिकाको व्यवहार माया, सद्भाव र हौसला पाएका बालबालिकाको व्यवहारभन्दा फरक हुन्छ । यस्ता बालबालिकामा हीनता भाव, बदलाको भाव, दुखीपन, डरत्रास, अन्तरमुखी, कम आत्मविश्वास र कमजोर मनोबल हुन्छ ।
- शारीरिक दुर्व्यवहारले बालबालिकाको शरीरका अङ्गहरू भाँच्चिने, आँखा फुट्ने, कान नसुन्ने जस्ता शारीरिक अपाङ्गता तथा मृत्युसमेत हुन सक्छ ।
- बालबालिका तथा अभिभावकको सम्बन्ध कमजोर हुने, बालबालिकाले विद्यालय छाड्ने, मानसिक समस्या समेत हुने संंभावना हुन्छ । स्रोत : युनिसेफ नेपाल
प्रतिक्रिया