आइतबार, वैशाख २८, २०८२

विपद् सङ्कटासन्न चामे : बाढी भत्काएका मनाङी सपनाहरू

भगवान खनाल २०८० असार २४ गते ११:०१

मनाङ । हिमाल, हिमश्रृङ्खला, नदी, खोला र तालतलैया, झरना, मनोरम हरियाली भनेपछि कस्को मन नलोभिएला रु मनाङ यस्तै प्राकृतिक विविधताले भरिपूर्ण छ ।

प्रकृतिले भरिपूर्ण मनाङको सदरमुकाम चामे खोला र नदीको सङ्गममा र पहाडको चेपमा छ। सदरमुकाम भएर पनि चामेलाई खासै मनाङ भनिदैन। चामे पुगेपछि बल्ल मनाङ जाने भनिन्छ ।

लमजुङको सरदरमुकाम बेशिसहरबाट ५६ किलोमिटर दूरीमा रहेको चामे सदरमुकाम भएको हुनाले प्रशासनिक गतिविधि हुन्छ भने चामे गाउँपालिका पनि यही रहेको छ । चामेबजारको बिचभागमा दक्षिणतर्फबाट बगेका दुईओटा घट्टेखोला मस्याङ्दी नदीमा मिसिन्छन् ।

घट्टेखोला र नयाँबजार घट्टेखोलामा वि.सं २०७८ साल असारमा गएको बाढीले मर्स्याङ्दी नदीले भन्दा बढी क्षति पुर्‍याएको थियो। बाढी दिउँसो गएको हुनाले मानवीय क्षति भएन । ती दुईओटा ठाडो खोलामा बाढीपहिरो गएको थियो । जसले जमिन र घर, कार्यालय लगायतका भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । पहिरोले व्यक्तिका घर, पुल, विद्यालय र जमिनमा क्षति गरेको थियो। यसैगरी चामे लघुजलविद्युत गृहमा पानी लैजाने पाइपमा समेत क्षति पुगेको थियो ।

चामेबजार र वडा नम्बर ५ जोड्ने मर्स्याङ्दी नदीको पुलमा काठ अड्किदा पानीले वारीपारीको भौतिक संरचना  र जमिनमा क्षति पुगेको थियो । चामे गाउँपालिकाका ९ घरमा पूर्ण क्षति र ७ घरमा आंशिकमा क्षति पुगेको थियो भने अध्यक्ष लोकन्द्र बहादुर घलेको घर समेत पूर्ण क्षति भएको थियो। यसैगरी उहाँको नासों गाउँपालिका कोत्रोस्थित ट्राउट माछाफर्म पूर्ण क्षति पुगेको थियो ।

स्थानीयहरूले करिब २ हप्तासम्म दुख पाए । बाढीपहिरो आउने त्रासले स्थानीयहरू जोगिएर बसेका थिए। खानेपानीमा क्षति पुगेकाले दुषित पानी पिउनाले स्थानीयमा झाडापखाला पनि लागेको थियो ।

एकीकृत भएर बस्दा पिउने पानीको पनि समस्या भएको थियो । तत्कालीन गण्डकी प्रदेशका मुख्यमन्त्री बाढी प्रभावित क्षेत्रमा अनुगमनमा आउँदा ल्याएको राहतको आलोचना नै भएको थियो ।

पूर्वाधार विकास कार्यालय चामेका इन्जिनियर प्रमोद लौगी चामे विपद् संकटासन्न रहेको बताउछन् । ‘चामेको प्राकृतिक स्वरूप र माटोको अवस्था कमजोर किसिमको छ,’ लौगी भने, ‘पानी आउने बित्तिकै एकै पटक धेरै सर्रर बग्ने (मास मुभमेन्ट) खाल माटो रहेको छ। एक ठाउँमा खन्दा सर्रर माटो आउँछ।’

यस्तै चामे वरपर मर्स्याङ्दी नदीको फैलावट कम रहेको कार्यालयका अर्का इन्जिनियर सन्देश त्रिपाठी बताए । त्रिपाठीका अनुसार बाढी आउँदा नदीको आफ्नो फैलावट नै पुग्दैन जसको कारणले दाँयाबाँया भित्तामा हान्छ र बस्तीलाई मुनी तान्छ ।

चामेमा सडकलगायतका पूर्वाधारका विकास काम हुन थालेको पनि धेरै भएको छैन। सडकको ट्रयाक खोल्दा माटोमा क्षति पुगेको छ जसको कारणले पनि पहिरो गएको छ। तर सडक नै नखनिएको, मेसिन नै प्रयोग नभएको स्थानमा पनि नदी तथा खोला किनारमा पहिरो गएको पाइन्छ ।

दुई वर्ष अघि (०७८ सालमा) ५/७ दिन निरन्तर वर्षा हुँदा बजार बिच भागबाट बग्ने दुवै खोलामा अचानक बाढी आउँदा चामेमा क्षति पुगेको थियो । यसैगरी मर्स्याङ्दी नदीमा लगातारको वर्षा हुँदा बाढी आएको थियो, बाढीसँगै लेदो बगेर आएको र ठाउँठाउँमा रूखहरू समेत बगेर आएकोले खोच भागमा पानी थुनिने र ह्वात्त खोलिदा त्यसभाग भन्दा मुनि झनै लेदो, ढुङ्गा र रूखसहित बाढी गएको थियो।

चामे बजार भन्दा माथि काजिनसारा ताल लगायत अन्य सानातिना ३/४ वटा ताल देख्न सकिन्छ। चामे लगायत मनाङमा विपद् तथा जलवायु परिवर्तन सम्बन्धी जनचेतना तथा तालिमको पनि अभाव छ । आपतविपद्‌मा कसरी जोगिने, के गर्ने भन्नेमा जनचेतना रहेको देखिन्न ।

दुई वर्ष अघिको बाढीले क्षति पुर्‍याएपनि नासोँ गाउँपालिकाको तालका स्थानीयले वस्ती स्थानान्तरण गर्ने तीनै तहको सरकारको प्रयासलाई सार्थक बनाउन मद्दत गरेनन् । पर्यटनको केन्द्रबिन्दुको रूपमा रहेको मनाङको प्रवेशद्धारको रूपमा रहेको तालका स्थानीयले पर्यटन व्यवसायबाट हुने आम्दानीको लोभमा अन्यत्र स्थानान्तरण हुन नचाहेबाट पनि प्रष्ट हुन्छ कि विपद् सम्बन्धी स्थानीय जनचेतनाको अभाव छ ।

तालमा मर्स्याङ्दी नदी तटबन्धनमा गर्न राज्यले गरेको लगानी त्यहाँका स्थानीयलाई पैसा नै बाँड्ने हो भने पनि एक परिवारको भागमा २ करोड रूपैयाँ भन्दा माथि हाता पर्दथ्यो । अहिले पनि ताल बजार उच्च जोखिममा छ । तीन तलासम्म बालुवाले पुर्दा पनि स्थानीयले वस्ती छोड्न मानेनन् तालमा। उता नदीमा दहत्तरबहत्तर थुप्रिएको छ । नदी किनारमा नै बस्ती छ ।

माथिल्लो तालमा एक दर्जन घर त दुई वर्षअघि बाढीपहिरोले पुरिदिएको थियो । उक्त स्थानमा अहिले हेर्दा के त्यहाँ पनि घरहरू थिए र ? भन्ने जस्तो लाग्छ । यस्तै असारमा नै डिभिजन वन कार्यालयले जलवायु सम्बन्धी तालिम प्रदान गरेको  छ । चामेबजारको पानी शुद्ध छैन ।

मुल वा खोलामा नै सीधै पाइप हालिएको छ। चामेमा खानेपानीको काम गर्ने कार्यालय गोरखा बजारमा रहेको छ। भर्खरभर्खर पानीको इन्टेक बनाउने कार्य शुरू हुदै गरेको भएपनि फिल्टर, सेडीमेन्टेसन गरेको पाइदैन। असारको दोश्रोसाता चामेबजारमा फाटफुट झाडापखला देखिएको छ । चामेमा चुनेपानी छ ।

पूर्वाधार विकास कार्यालयले जिल्लाका बाढीग्रस्त क्षेत्रका मानवीय वस्तीमा पानीले हान्ने ठाउँमा ढलान, ग्याविन वाल लगायतका पक्की खालका संरचना (रिजिड स्टक्चर) बनाउँदै आएको छ ।

तिल्चे, ताल, थानचोक, ध्यारूमा त्यस्ता प्रकृतिका कार्य गरिएको कार्यालयले जनाएको छ। यस्तै जिल्लाको पूर्वाधार विकासमा सडक डिभिजन कार्यालय दमौली र पोखरास्थित शहरी विकास आयोजनाले पनि काम गरिरहेका छन् ।

२ वर्ष अघिको बाढीले जिल्लाका ३/४ वटा ट्रस्ट पुल, ९/१० वटा झोलुङे पुल, चामे बजारको कल्भर्ट र करिब एक दर्जन जति काठेपुल बगाएको थियो। यसैगरी जिल्ला हुलाक, नासोँ गाउँपालिकाको भवन बगाएको थियो। करिब ५ वटा लघुजलविद्युतमा क्षति पुगेको थियो।

प्रतिक्रिया