एसिया कपका ५ कीर्तिमान

आइसिसी एक दिवसीय विश्वकप २०२३ अक्टोबर(नोभेम्बरमा भारतमा हुँदैछ। त्यसअघि एसिया कप पनि एक दिवसीय कै ढाँचामा खेलिदैछ । पाकिस्तान क्रिकेट बोर्डले यो वर्ष एसिया कप आयोजना गर्दैछ। सुरुका केही खेल पाकिस्तानमा खेलिए पनि त्यसपछिका सबै खेल श्रीलङ्कामा हुनेछन् । यो प्रसंगमा हेरौँ एसिया कपमा बनेका ५ यस्ता कीर्तिमान जसलाई तोड्न असम्भव जस्तै छ ।
विराट कोहलीको १८३ रन
युवा विराट कोहलीले सन् २०१२ को एसिया कपमा पाकिस्तानविरुद्ध १८३ रनको अविश्वसनीय इनिङ खेलेका थिए। उक्त खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । विराटको इनिङ्समा २२ चौका र १ छक्का समावेश थियो । एसिया कपको इतिहासमा अहिलेसम्म कुनै पनि खेलाडीले यति ठुलो इनिङ खेलेका छैनन् । विराटको यो कीर्तिमान तोड्न गाह्रो छ ।
सबैभन्दा धेरै आउट गर्ने विकेटकिपर
भारतका एमएस धोनी तथा श्रीलङ्काका कुमार संगकारा क्रिकेट इतिहासकै उत्कृष्ट विकेटकिपर हुन् । एसिया कपमा सबैभन्दा धेरै खेलाडीलाई आउट गर्ने कीर्तिमान यी दुवैको नाममा छ । एसिया कपमा धोनी र संगकारा ३६–३६ जना खेलाडीलाई मैदान बाहिरको बाटो देखाएका छन् । यी दुई जना विकेटकिपरको यो रेकर्ड तोड्न लगभग असम्भव छ।
सबैभन्दा धेरै खेलमा कप्तानी दिग्गज विकेटकिपर
ब्याट्सम्यान तथा भारतीय क्रिकेट टिमका कप्तान एमएस धोनीको एसिया कपमा विशेष कीर्तिमान छ। उनी एसिया कपमा सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी हुन् । उनले यो प्रतियोगिताका १४ खेलमा कप्तानी गरेका छन् । अहिलेसम्म एसिया कपमा योभन्दा बढी खेलमा कुनै पनि खेलाडीले कप्तानी गरेका छैनन् ।
नासिर जमशेद र मोहम्मद हफिजको कीर्तिमानी साझेदारी
सन् २०१२ को एसिया कपमा भारत र पाकिस्तान भिड्दा पाकिस्तानका ओपनरले कीर्तिमानी रन बनाएका थिए । पाकिस्तानका लागि मोहम्मद हफिज र नासिर जमसेदले ओपनिङ गर्दै उक्त खेलमा २२४ रन जोडे। उनीहरूको यो कीर्तिमान आज पनि कायम छ । एसिया कपको इतिहासमा यति ठुलो ओपनिङ पार्टनरसिप अहिलेसम्म देखिएको छैन ।
अजन्था मेन्डिसको १३ रन, ६ विकेट
श्रीलङ्काका पूर्व दिग्गज स्पिनर अजिन्था मेन्डिसको नाममा एउटा यस्तो कीर्तिमान छ जसलाई तोड्न सजिलो छैन । मेन्डिसले सन् २००८ को एसिया कपको फाइनलमा भारतविरुद्ध मात्र १३ रन दिएर ६ विकेट लिएका थिए । फाइनलमा यस्तो बलिङ सायदै कसैले गर्न सक्छ ।
प्रतिक्रिया