शनिबार, असार ७, २०८२

प्रधानमन्त्री दाहालकी पत्नीको निधनप्रति क-कसले दिए श्रद्धाञ्जलि ?

नेपालखोज २०८० असार २७ गते १६:५६

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना दिएका छन् । सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै उनले टेलिफोन गरेर समवेदना प्रकट गरेका हुन् ।

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरे । सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्त डा. मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताए । पार्टी सभापति रवी लामिछानेले दाहालको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै यस दुःखद् घडीमा उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले आज एक ट्वीट गर्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको जनाएका हुन् । उनले दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरे । नर्भिक अन्तर्राष्ट्रिय अस्पताल उपचारका क्रममा आज विहान ८ः३३ बजे दाहालको निधन भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल ट्वीटरर्माफत सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । साथै उनले प्रधानमन्त्री दाहालप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्राथना गरेका छन् ।

प्रधानमन्त्रीलाई परेको चोट हामी अनुमान गर्न सक्छौं : नेता डा. रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् । पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रधानमन्त्री र उनको परिवारजनलाई ठूलो चोटका साथै सबैका लागि अपूरणीय क्षति भएको बताएका छन् । उनले अध्यक्ष ‘प्रचण्ड’ र सम्पूर्ण परिवारजनप्रति समवेदना प्रकट गरे ।

प्रदेश प्रमुख शर्माद्वारा समवेदना प्रकट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुःख व्यक्त गरेका छन् । आज समवेदना पत्र जारी गर्दै प्रदेश प्रमुख शर्माले सीता दाहालको निधनले आफूलाई स्तब्ध बनाएको जनाएका छन् । शर्माले यस दुःखद् घडीमा दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री पत्नी दाहालको आज बिहान ८.३३ बजे ६९ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।

प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । आज श्रद्धाञ्जलि पत्र जारी गर्दै मुख्यमन्त्री यादवले सीता दाहालको निधनले आफूलाई मर्माहत बनाएको जनाएका छन् ।

उनले प्रधानमन्त्री दाहालको कठिन यात्रा एवं आरोहअवरोहमा साथ दिएकी दाहालको निधनले एक सौम्य व्यक्ति तथा जनयुद्धकी सच्चा सहयात्री पनि गुमेको भन्दै दुःख व्यक्त गरे । प्रधानमन्त्री पत्नी दाहालको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ पार्थिव शरिरको अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया