पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । विसं २०७९ असार २८ गते राति आएको पहिराेले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए ।
सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ । पहिराले घर बगाएका पीडितसित ओत लाग्ने ठाउँ छैन । पहिराेबाट विस्थापित परिवारमध्ये २५ परिवार चित्रे, १२ परिवार बखल्टुमटार र अन्य खाँदबारीमा अस्थायीरूपमा बसिरहेका गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिए । गाउँपालिकाले पहिरोपीडितको आवास निर्माणका लागि रु पाँच लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
पहिरोपीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो । पानी पर्न थालेपछि उनीहरुलाई घर बगाउने चिन्ता रहन्छ । जोखिम भए पनि अन्यत्र जाने ठाउँ नभएपछि केही परिवार बेसिन्दामै बसिरहेका छन् ।
गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले खाँदबारी नगरपालिका–७ स्थित भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा रु एक करोड ३० लाखमा खरिद गरिसकेको छ । तर भवन निर्माणको भने टुङ्गो लागेको छैन । rss
प्रतिक्रिया