सोमबार, असार २३, २०८२

पब्जीमा नेपाली टिमलाई सफलता, पीएमडब्लूआइमा तेस्रो बन्दै जित्यो एक करोड २० लाख

नेपालखोज २०८० असार २९ गते १३:५८

काठमाडौं । नेपाली पब्जी टिम डीआरएस गेमिङले ‘पब्जी मोबाइल वल्र्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ को अलस्टार्स स्टेजमा तेस्रो हुँदै डीआरएस गेमिङले ९० हजार अमेरिकी डलर (करिब एक करोड २० लाख नेपाली रुपैयाँ) जितेको छ । पब्जी प्रतियोगीता मंगलबारदेखि बिहिबारसम्म चलेको थियो ।

पहिलो दिनमा मध्यम खालको सुरुवात गरेको डीआरएस गेमिङले दोस्रो दिनमा उत्कृष्ट खेल्दै अङ्क तालिकामा सातौँबाट दोस्रो स्थानमा उक्लिएको थियो । तर तेस्रो दिनमा त्यो खालको खेल देखाउन नसक्दा टिम दोस्रो स्थानको टिमभन्दा चार पोइन्टले पछाडि परेको हो । अलस्टार्स स्टेजको अङ्क तालिकाको पहिलो स्थानमा थाइल्यान्डको पब्जी टिम भ्याम्पाएर ई–स्पोर्ट्स र दोस्रो स्थानमा कोरियन पब्जी टिम डिप्लस किया रहेको छ ।

अलस्टार्स स्टेजको विजेता भ्याम्पाएर ई–स्पोर्ट्स एक लाख ४० हजार डलर (करिब एक करोड ८५ लाख रुपैयाँ) र उपविजेता डिप्लस कियाले एक लाख १५ हजार डलर (करिब एक करोड ५१ लाख रुपैयाँ) जितेका छन् । योसँगै अङ्क तालिकाको शीर्ष सात टिम मेन टुर्नामेन्टको लागि पनि छनोट भएका छन् । जसको पुरस्कार राखि २० लाख अमेरिकी डलर (करिब २६ करोड ३८ लाख रुपैयाँ) रहेको छ ।

अर्को चरणमा डीआरएस गेमिङ, भ्याम्पाएर ई–स्पोर्ट्स, डिप्लस किया सँगै गैमिन ग्लाडिएटर्स, अल्फा सेभेन ई–स्पोर्ट्स, टिम फाल्कोनस् एएफ र इन्फिनिटी आइकिउ रहेका छन् । मेन टुर्नामेन्ट आज शुक्रबारदेखि आइतबारसम्म चल्नेछ । जसको लाइभ दिउँसो ४ः४५ देखि ‘पब्जी मोबाइल ई–स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिने छ ।

प्रतिक्रिया