शनिबार, वैशाख १३, २०८२

सहरमा के छ ?

तारा पराजुली २०८० असार ३० गते ८:३९

हामी जन्मेको गाउँतिर

मान्छेहरु मलामी जाँदा

मलामीजस्तै लाग्थे।

अलिकति मलिन अनुहार

एक हरफ पीडाको लामो लस्कर

केहि छुटाउनुपर्दाको अभावको सन्नाटा

न दुख्नेगरि हाँस्थे

न बिझ्नेगरि बोल्थे

बाँच्दाको दुश्मनसमेत

रिसइवीको विगत बिर्सेर शोकमा शोकाकुल हुन्थे।

कर्मी मौरीको जत्थाजस्तै

घाट पुग्नुअघि

वाटैदेखि दाउरा भेला गर्थे

मैले थाहा पाएसम्म

गाउँमा कसैले कसैको मृत्युलाई उत्सव मनाएनन्

गाउँमा कहिल्यै मृत्युका नाममा ताली बजेन।

पालैपालो काँध हालेर

घाटसम्म लैजान्थे लास मलामीहरु

छिमेकी डोकाभरि खाजा बोकेर जान्थे

मलामीका लागि

र त गाउँ गाउँजस्तो थियो

इष्ट्रमित्र आफ्नाजस्तै लाग्थे।

सहरमा आजभोलि

हातमा मोवाइल

काँधमा क्यामेरा बोकेर जान्छन् मलामीहरु

अनि जल्दै गरेको लासमाथि

उडदै गरेको धुवाँ मुनि

अन्तर्वार्ता लिने र दिनलाई

भीड भीड गर्छन् मलामीहरु।

यो मतलवी सहर

यति निर्दयी र निरङ्कुश बन्यो कि,

जन्ती र मलामी छुट्याउनै मुस्किल।

अचेल त यस्तो लाग्न थालेको छ

सहरमा के छ यस्तो ?

जहाँ मान्छेलाई हेर्दाहेर्दै कठोर ढुङ्गा बनाउँछ !

प्रतिक्रिया