समयमै अपाङ्गताको पहिचान

कुनै पनि बालबालिका एक अर्कामा भिन्न हुन्छन् । सर्वगुण सम्पन्न र सक्षम नहुन पनि सक्छन् । शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक कारणले बालबालिका पनि, आफ्नो नियमित क्रियाकलाप गर्न सक्षम नहुन सक्छन् ।
अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, बौद्धिक कार्यगत सीमितता वा विद्यमान अवस्थाका कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले समाज र जीवनमा सहभागी बन्न बाधा भएका व्यक्ति हुन् ।
अपाङ्गताको प्रकार
१. शारीरिक अपाङ्गताः स्नायु, मांसपेशी र जोर्नीहरू र हड्डीको बनावट र सञ्चालनमा भएको समस्याका कारण शारीरिक अङ्गहरूको सञ्चालन, प्रयोग, कार्य र क्रियाकलापमा आएको समस्या र स्थितिलाई शारीरिक अपाङ्गता भनिन्छ ।
२. दृष्टिसम्बन्धी अपाङ्गताः दृष्टिसम्बन्धी समस्याका कारण शिशु बालबालिकामा कुनै पनि वस्तुको, आकार र रङको ज्ञान नहुने स्थिति दृष्टिसम्बन्धी अपाङ्गता हो ।
३. सुनाइसम्बन्धी अपाङ्गता: सुनाइका अङ्गहरूको बनावट र स्वरको पहिचान, उतारचढाव साथै स्वरको मात्रा, गुण छुट्याउने क्षमतामा हुने कमजोरीलाई सुनाइसम्बन्धी अपाङ्गता मानिएको छ । सुनाइसम्बन्धी अपाङ्गता बहिरा र सुस्तश्रवण हुन् ।
४. श्रवण दृष्टिविहीन अपाङ्गताः दृष्टि र सुनाइसम्बन्धी अपाङ्गता भएको शिशु, व्यक्ति श्रवण दृष्टिविहिन भएको अपाङ्गता मानिएको छ ।
५. स्वर र बोलाइसम्बन्धी अपाङ्गताः स्वर र बोलाइसम्बन्धी अपाङ्गताहरूमा उत्पन्न अप्ठेरोका कारण बोल्दा स्वरको उतारचढावमा कठिनाइ, अस्पष्ट बोली र अन्य बोलाइसम्बन्धी अपाङ्गता मानिएको छ ।
६. बौद्धिक अपाङ्गताः शिशु, बालबालिकाको उमेर र परिस्थितिअनुसार, मस्तिष्क र बौद्धिक अङ्गहरूमा आएको समस्या तथा सचेतना, बुझाई, सोच, तर्क, स्मरणशक्ति, भाषा, प्रारम्भिक गणना जस्ता बौद्धिक कार्य गर्न ढिलाइ हुनु वा गर्न नसक्ने स्थितिलाई बौद्धिक अपाङ्गता मानिएको छ ।
७. बहुअपाङ्गताः एउटै शिशु, बालबालिका माथि उल्लेख भएका २ वा २ भन्दा बढी प्रकारका समस्यालाई बहुअपाङ्गता मानिएको छ ।
८. अटिजमः प्रारम्भिक अवस्थामा नै हुने स्नायु तथा व्यवहारसम्बन्धी अपाङ्गता हो । धेरैजसो अटिजम भएका बालबालिकामा भाषा सञ्चार, सामाजिक व्यवहार, असामान्य हुनुका साथै एकोहोरो क्रियाकलाप गर्दछन् ।
९. मस्तिष्क पक्षघातः गर्भावस्थामा, शिशु जन्मने क्रममा वा जन्मपश्चात् कुनै कारणले मस्तिष्कमा हुने पक्षाघातको अवस्था हो । पक्षघातले शरीर वा शरीरका अङ्गहरूको चाल र अवस्थितिमा अपूरणीय असर हुन्छ ।
१०. हेमोफिलियाः हेमोफिलिया वंशाणुगत (जिनमा) हुने विकृति हो । शरीरमा रगत जम्ने तत्त्वको अभाव भई रक्तश्राव भयो भने बन्द नहुने स्थिति हुन्छ ।
अपाङ्गता हुनाका कारणहरू
जन्मजातः शिशुले आमाबुबाको पुस्ताबाट जन्मसँगै लिएर आएको असामान्यताहरूलाई जन्मजात असामान्यता भनिन्छ । यस अवस्थामा आमाबुबा सतर्क भएतापनि वंशाणुगतरूपमा अपाङ्गता शिशुमा सर्दछ ।
गर्भावस्थामाः गर्भावस्थामा आमाले जथाभावी औषधीहरू खानाले, वा गर्भ तुहाउने कोसिसमा जथाभावी गर्नाले, आमालाई विभिन्न सर्ने वा नसर्ने रोगहरू लाग्नाले, धेरै कडा उपचार गर्नुपरेमा, आमा कुपोषित भएमा यसको नकारात्मक प्रभाव शिशुमा परेर अपाङ्गता हुने गर्दछ । यसैगरी आमाले विषादीहरू चलाउँदा पनि शिशुलाई नकारात्मक प्रभाव परेर अपाङ्गता देखापर्छ ।
जन्मको अवस्थामाः शिशुको जन्म हुने बेलामा लामो समय व्यथा लागेर जन्मन कठिनाई भएर, जन्मको अवस्थामा दूघर्टना भएर, जर्बजस्ती प्रसूति गराउँदा शिशुमा आघात भएर पनि अपाङ्गता देखापर्छ ।
दुर्घटनाः दुर्घटना जो कोहिलाई जुनसुकै बेलामा हुन सक्छ । यसमध्ये बालबालिका सबैभन्दा धेरै दुर्घटनामा पर्दछन् किनभने बालबालिकाको विकासात्मक अवस्था अनुरुप चेतनाको विकास भइसकेको हुँदैन । त्यसैले उनीहरूलाई खतरा थाहा नहुने र उनीहरूलाई कुनै पनि कार्यको परिणाम थाहा हुँदैन ।
तर उनीहरू खेल्दै सिक्दै गरिरहेका हुन्छन् । यस्तो अवस्थामा अभिभावकको लापरवाहीले गर्दा बालबालिकाले जथाभावी औषधीहरू खाने, लड्ने, खस्ने, आगोले पोल्ने, करेन्ट लाग्ने, गाडीले हान्ने जस्ता दुर्घटनाहरूको कारण अपाङ्गता हुन्छ ।
अपाङ्गताको रोकथाम
▪️ आमा तथा बालबालिकाले तोकिएबमोजिमका प्रतिरक्षित खोपहरू लगाउनुपर्दछ ।
▪️ पौष्टिक खाना खाने र गर्भावस्थामा जथाभावी औषधीहरू खानुहुँदैन ।
▪️ गर्भावस्थामा रक्सी, चुरोट, लागुपदार्थ खानु हुँदैन ।
▪️ गर्भवतीले एक्सरे गराउनु हुँदैन ।
▪️ सरुवा रोगबाट बच्नुपर्दछ ।
▪️ बालबालिकालाई हुनसक्ने सम्भाव्य दुर्घटनाहरूबाट जोगाउनुपर्दछ ।
▪️ स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा प्रसूति गराउनुपर्दछ ।
युनिसेफ नेपाल
प्रतिक्रिया