कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने भएपनि एक वर्षपछि बैठक बस्न लागेको हो ।
कांग्रेसले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा हिजाे बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको सहमहामन्त्री फर्मुल्लाह मन्सुरले जानकारी दिए ।
बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ ।
यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको उनले बताए । बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया