अपाङ्गताको प्रारम्भिक पहिचान

अपाङ्गताको पहिचान जति छिटो भयो उति नै उपचार गर्न, विशेष सिप सिकाउन सजिलो हुन्छ । त्यसैले पहिलो ३ महिना देखि १ वर्षमा यस्ता लक्षणहरूमा ध्यान दिने, पहिचान गर्ने र शङ्का लाग्नासाथ स्वास्थ्य संस्था वा विज्ञसँग सम्पर्क गर्नुपर्दछ ।
शारीरिक अपाङ्गताको पहिचान
शिशुले शारीरिक विकासको विकासात्मक अवस्था अनुरुपका निम्न लक्षणहरू नदेखाएको अवस्थामा अभिभावकले थप खोजी र विज्ञसंँग सम्पर्क गर्नुपर्दछ:
- अभिभावकले तेल लगाउँदा, हातगोडा चलाउँदा दुखेको भावले रुने गरेमा
- हातखुट्टा फालेर वा साईकल चलाए जसरी खेल्न नसकेमा
- खेलौनाहरू राखेको ठाउँमा लिन नगएको अवस्थामा
- खेल्दाखेरी हातगोडालाई सजिलै चलाउन नसकेको अवस्थामा
- समाउने फ्याक्ने क्रियाकलाप गर्दा विकासात्मक अवस्थाअनुसार गर्न नसकेमा ।
दृष्टिसम्बन्धी अपाङ्गताको पहिचान
शिशुले पहिलो ३ महिनामै हेर्न र प्रतिक्रिया दिन सक्छ । तर विकासात्मक अवस्था अनुरुपका हेरेका देखाएका वस्तुहरूलाई प्रतिक्रिया नदिनु वा लक्षणहरू नदेखाएको तथा निम्न अवस्थामा अभिभावकले थप खोजी र विज्ञसंँग सम्पर्क गर्नुपर्दछ:
- रङ्गीचङ्गी वस्तुहरू देखाउँदा टाउको घुमाउन नसक्नु वा अप्ठेरो गरेर जिउ फर्काउनु
- वरिपरिका विभिन्न वस्तुहरू नहेर्नु
- वस्तुहरू कति टाढा छ अन्दाज गर्न नसक्नु वा वस्तुहरू एकातिर देखाउँदा अर्कोतिर हेर्नु
- पढ्दा धेरै टाउको निहुराएर पढ्नु
- अँध्यारोको प्रतिक्रिया नदिनु
- आँखा मिचिरहने
- कतै हेर्दा आँखा च्यातेर हेर्ने ।
सुनाइ सम्बन्धी अपाङ्गताको पहिचान
शिशुले पहिलो ३ महिना भित्रै सुनेर प्रतिक्रिया दिन सक्छ । तर विकासात्मक अवस्था अनुरुप निम्नानुसारको लक्षणहरू देखिएमा तुरुन्त विज्ञकोमा सम्पर्क गनुपर्छ:
- आवाजहरू आएको बेवास्ता गर्नु
- बोलाउँदा प्रतिक्रिया नदिनु
- आवाजहरू वा गीत सङ्गीत बजाउँदा झर्काे मान्ने
- कुराकानी गर्दा, जमघट गर्दा सँगै नबस्ने वा सहभागी नहुने
- सुन्नुपर्दा कानलाई तन्काएर टाउको आवाज आएतिर ढल्काउनु
- एक्लै बस्न रुचाउनु ।
बोलाइ सम्बन्धी अपाङ्गताको पहिचान
शिशुले पहिलो २ वर्षमा शब्दहरू बोल्न थाल्छ । केही महिना भित्रै सुनेर प्रतिक्रिया दिन सक्छ । तर विकासात्मक अवस्था अनुरुप निम्नानुसारको लक्षणहरू देखिएमा तुरुन्त विज्ञकोमा सम्पर्क गर्नुपर्छ:
- आवाज आएकोतिर नहेर्ने, बोलाउँदा प्रतिक्रिया नदिने गरेमा
- एउटै शब्द दोहोर्याएर बोल्ने र अर्को शब्द जोड्न कठिनाइ भएमा
- बोल्दा टाउकोमा दबाब दिने, जोडले हल्लाउने गरेमा
- बोल्न खोज्दा बोल्न नसकेर रुने, रिसाउने गरेमा
- कुरा गर्दा, बोल्दा रोकीदैँ बोल्दै गर्ने वा अकमकाउने भएमा
- शब्दहरू कुनमा जोड लगाउने थाह नहुने भएमा ।
व्यवहारमा समस्या पहिचान
यसप्रकारको समस्या बालबालिकाले लामो समयसम्म नकारात्मक संवेगहरू रिस, चिन्ता, डर रहिरहेमा विकासात्मक अवस्था अनुरुप व्यवहार बनाउन सक्दैनन् । जसको परिणामस्वरूप निम्नानुसारको लक्षणहरू देखिने सम्भावना हुन्छ:
- सधैँ चिन्तित रहने
- टाउको सिधा नगर्ने
- निर्देशनहरू नसुन्ने
- चिन्ता गर्ने, डराउने
- गल्तीलाई संम्झेर पछुतो मान्ने
- धेरै खाने, सुत्ने, थकित हुने, दैनिक कार्य गर्ने इच्छा नगर्ने
- घुर्की लाउने, धम्काउने, सानो कुरामा धेरै रिसाउने, घरमा बस्दिन भन्ने
- आत्महत्या गर्ने धम्की दिने र कोशिस पनि गर्ने
- नराम्रोसँग पिट्ने, सामानहरूले हिर्काउने, हतियारहरू समेतले आक्रमण गर्ने
अटिजम पहिचान
बालबालिकामा २ देखि ३ वर्षसम्ममा भाषा सञ्चार, सामाजिक व्यवहार देखाउन थाल्छ । निम्नानुसारको लक्षणहरू देखिएमा तुरुन्त विज्ञकोमा सम्पर्क गर्नुहोस्:
- आवाज आएकोतिर नहेर्ने, बोलाउँदा वास्ता नगर्ने
- एकोहोरो क्रियाकलाप गर्नेे
- आँखा नजुधाउने
- दैनिक कार्यहरू आफैँ गर्न नसक्ने
- नयाँ ठाउँमा रमाउन नसक्ने
- तातो चिसो, आवाज, स्पर्श, हेराइको असाधारण तरिकाले प्रतिक्रिया दिने
- अरूको रुवाइ, दुखको वा सुखको बेवास्ता गर्ने
हेमोफिलिया पहिचान
तलको लक्षणहरू भएमा हेमोफिलिया भएको हुन सक्छः
- शरीरमा काला टाटाहरू देखापर्नु
- सानोतिनो चोटबाट पनि धेरै रगत बग्ने र रगत नरोकिने
- दाँत माझ्दा, फुक्लिदा पनि धेरै रगत बगेमा ।
युनिसेफ नेपाल
प्रतिक्रिया