बागलुङको झोलुङ्गे पुल

देशमा प्रजातन्त्र आएपछि सन ५० र ६० को दशकमा नेपालमा बिदेशी सहयोगहरु आउन थालेको थियो । स्विस, अमेरिकी र बेलायती सहयोगमा दुर्गम स्थानहरुमा पुलहरु बन्न थालेका थिए ।
खासगरी काठे पुल र झोलुङ्गे पुलहरु अत्यधिक बनेका थिए । नेपालकको दुर्गम स्थलमा समेत भौगोलिक अध्ययनको क्रममा संयुक्त राष्ट्र संघको बिशेषज्ञको रुपमा स्विस नागरिक टोनी हेगनले नेपाल भ्रमण गरेका थिए । उनि पुगेको दुर्गम स्थलहरुमा आधारभूत आबश्यकताको बारेमा सोधपुछ गर्दा अधिकांश ठाँउमा एउटा पुलको खाँचो थियो भन्ने जवाफ पाए पछि उनले स्विस सहयोगमा पुलहरु निर्माण गर्न थालेका थिए ।
त्यस्तै अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको आह्वानमा बिश्वको अल्पबिकसित राष्ट्रहरुमा स्वयंसेवकको रुपमा काम गर्न अमेरिकी बिद्यार्थीहरुलाई आह्वान गरेपछि अमेरिकी पिसकोर भोलेनटियरको रुपमा सन ६० को दशकबाट नेपालमा पनि स्वयंसेवकहरु आउन थाले । यि स्वयंसेवक मार्फत पनि कतिपय खोलानालाहरुमा पुलहरु बनाउन थालेका थिए ।
स्विस सहयोगमा अधिकांश झोलुङ्गे पुलहरु बन्न थालेको थियो भने पिसकोरहरुको सहयोगमा धेरै जसो काठको क्यान्टीलीभर पुलहरु बनेका थिए भने केही झोलुङ्गे पुलहरु बनेका थिए ।
बेलायती सहयोगमा बनेका पुलहरु भने लाहुरे बस्तीका नजिक बढि प्राथमिकतामा पारेर बनाइएको भेटिन्छ । समग्रमा हेर्दा सन ५० र ६० को दशकमा अमेरिकी र स्वीस सहयोगमा ४३ वटा पक्की पुलहरु बनेको थियो । बेलायती सहयोगमा पुलहरु भने निकै न्यून थियो ।
तर सन ७५ र ७८ (विसं २०३२/३५) को बिचमा बागलुङमा यहाँका स्थानियले स्थानिय श्रोत र साधनले ६२ वटा पुलहरु बनाएर देखाइदिए । यि पुलहरु बनाउँदा कुनै पनि बिदेशी प्राविधिक तथा आर्थिक सहयोग लिइएको थिएन । स्थानिय कामीहरुले ठूला ठूला लामा फलामका साङ्लाहरु बनाउँथे ।
साङ्लाबाट स्थानिय सुझबुझका साथ स्थानिय जनताहरुले झोलुङ्गे पुलहरु बनाउँथे । निकै बलिया र निकै कम खर्चमा बनाइएका यि पुलहरु टिकाउ पनि थिए । त्यसबेला ३० फुट देखी ३०० फुट सम्म लम्बाइका पुलहरु बनाइएको थियो । खर्च यति कम थियो कि बिदेशीहरु अनौठो मान्दथे ।
सरदर एउटा पुलको खर्च १० हजार मात्र थियो । यस किसिमको स्थानिय सामग्री स्थानिय जनश्रमदान तथा स्थानिय सुझबुझले बनेका यि पुलहरु देखाएर बिदेशी सहयोग नियोगका प्रतिनिधीहरुले भन्थे, बागलुङबाट केही सिकु । बिदेशी इञ्जिनियरहरुले यि पुलहरुको निरिक्षण गरे पछि सुरक्षित र बलिया भएको प्रमाणित समेत गरेका थिए ।
पछिल्लो पटक इसिमोडले सन १९९५ मा गरेको अध्ययनमा बागलुङ जिल्लामा ४५० झोलुङ्गे पुलहरु थिए । तसर्थ बागलुङ जिल्लालाई झोलुङ्गे पुलको जिल्ला भनेर चिनिन्थ्यो । २०५० सालसम्म पनि सेती दोभानबाट कार्कीनेता हुदै बागलुङ सम्म खच्चरले नै सामान बोकेर आइपुग्थ्यो ।
बागलुङ – गलकोट -ढोरपाटनस बागलुङ – म्याग्दी – जोमसोम तथा बागलुङ- कुश्मीशेरा – तराइ खच्चरहरुको सामान ढुवानी गर्ने बाटो नै थियो । यि बाटोहरुमा पर्ने खोलानालामा जताततै झोलुङ्गे पुल बनेका थिए ।
बागलुङ सडक यातायातबाट जोडिन निकै समय लाग्यो । २०४९ सालमा पोखरा बागलुङ राजमार्ग बने पछि यातायातबाट सुगम बनेको बागलुङसंग यस अगाडि २०२२ सालमा बनेको बलेवा विमानस्थलबाट नै राजधानी एवं पोखरा गाँसिएको थियो ।
मिश्रित बस्ती रहेको बागलुङमा ब्राम्हण, क्षेत्री, मगर, दलित, नेवार तथा थकालीहरुको बसोबास रहेको छ । भक्तपुरका नेवारहरुले यहाँको संस्कृती र आर्थिक समुन्नतीमा टेवा पुर्याएको बागलुङ सडक यातायातको सहजताले बिकास तिर लम्किएको छ ।
यहाँ राखिएको तस्विर बागलुङको दक्षिण भेगमा कालीगण्डकीमा रहेको पुरानो पुल हो । पोखराबाट हिडेर बागलुङ जानेहरु यहिँ पुलबाट नै बागलुङ प्रवेश गर्दथे । २०४९ सालमा भूपी राजमार्गको निर्माणको समय मालढुङ्गामा पक्की पुल बनेपछि यो पुल पनि बिस्थापित भयो ।
पछिल्लो केही समय देखि भने बागलुङ तथा छिमेकी जिल्ला कुश्मा झोलुङ्गे पुलको प्रतियोगितामा लागे जस्तो अनुभुति दिने होडमा देखिन्छ । सबैभन्दा लामो, सबैभन्दा गहिरो, सबैभन्दा अग्लो यस्तै शिर्षकमा भागेको देखिन्छ । पहिले बागलुङले झोलुङ्गे पुलमा जुन किसिमको साख जमाएको थियो ।
अहिले आबश्यकताको लागि झोलुङ्गे पुल बनाउनु भन्दा पनि किर्तिमानको होडमा लागे जस्तो लाग्छ । पहिले दुइ गाउँलाई जोड्न झोलुङ्गे पुल बनाउनु पर्दा सबैभन्दा छोटो दुरीको चयन गरिन्थ्यो । कम लागतमा बहुउपयोगी बनाउने ध्येय हुन्थ्यो । तर अहिले दुइ गाँउ जोड्न झोलुङ्गे पुल बनाउन सबैभन्दा लामो दुरीको चयन गरिन्छ ।
प्रतिक्रिया