आइतबार, वैशाख १६, २०८१

ताप्लेजुङमा लाखेनाच सिकाइँदै

नेपालखोज २०८० साउन ३ गते ७:२९

ताप्लेजुङ । नेवार समुदायमा प्रचलित लाखेनाच सिकाउन सुरु गरिएको छ । परम्परागत कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यहाँको नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले नाच सिकाउन सुरु गरेको हो ।

गत शनिबारदेखि सदरमुकाम फुङ्लिङमा सञ्चालन भइरहेको लाखेनाच तालिममा १३ देखि ३५ वर्ष उमेर समूहका १५ जना नेवार समुदायका व्यक्ति सहभागी छन् । नेवार समुदायको धार्मिक तथा सांस्कृतिक उत्सवमा महत्वपूर्ण मानिने लाखेनाच कलाको संरक्षण र निरन्तरताका लागि पुस्तान्तरण गर्दै लैजानुपर्ने आवश्यकता भएकाले लाखेनाच सिकाउन थालिएको समाजका अध्यक्ष शङ्कर श्रेष्ठले बताए।

लाखेनाच नृत्य मात्रै नभई नेवार समुदायको सांस्कृतिक पहिचान र कलात्मक अभिव्यक्तिको मूर्त रुप भएकाले यसको निरन्तरता र संरक्षणमा ध्यान दिइएको श्रेष्ठको भनाइ छ । नेवार समुदायको बसोबास रहेको यस जिल्लामा गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्वका अवसरमा हरेक वर्ष लाखेनाच निकाल्ने गरिएको छ । उक्त पर्वमा नेवार समुदायका मात्रै नभई अन्य समुदायका मानिसको समेत सहभागिता हुनेगर्छ ।

लाखेको मुखुण्डो पहिरिएर प्रस्तुत गरिने परम्परागत नृत्यलाई नै लाखेनाच भन्ने गरिएको छ । उक्त नाचमा ढोलक, ट्याम्को, मजुरालगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको मान्छेको आत्माले दुःख नदेओस् भन्ने विश्वासका साथ लानेनाच देखाइने गरेको नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शङ्कर श्रेष्ठले बताए ।

नेवार समुदायमा तन्त्रमन्त्र र भूतप्रेतबाट बच्न गठेमङ्गललाई विशेष दिनका रुपमा लिने गरिएको छ । यस दिनमा भीमकाय राक्षसको सम्झना गरिन्छ भने उक्त राक्षसको मृत्युपछि भय त्रासबाट मुक्त भएको विश्वास गरिन्छ । rss

प्रतिक्रिया