आइतबार, वैशाख १६, २०८१

सीमा र सचिनको नेपाल कनेक्सन खोजिँदै

नेपालखोज २०८० साउन ३ गते ९:०९

काठमाडौं । पाकिस्तानकी सीमा र भारतका सचिन बिच मोबाइल गेम खेल्ने क्रममा प्रेम भएपछि सीमा आफ्ना ३ सन्तान सहित नेपाल आएर सचिन सँग विवाह बन्धनमा बाँधिएकी थिइन् । अहिले यो विषयलाई भारत र पाकिस्तान दुवै तिर हिन्दु-मुस्लिम विवाद तथा पाकिस्तानी जासुसी सँग जोडेर समाचार भाइरल बनाउने लहर चलेको छ ।

भारत उत्तर प्रदेश स्थित ग्रेटर नोएडाका सचिन मीणा , उनका बुबा नेत्रपाल तथा पाकिस्तानी नागरिक सीमा हैदरसँग भारतको प्रहरीले मङ्गलवार पनि सोधपुछ जारी राखेको छ । सोमबार एटीएसले तीनै जनालाई लगभग ८ घण्टा सँगै राखेर सोधपुछ गरेको थियो । यसै गरी मङ्गलवार पनि धेरै प्रश्न सोधियो । सचिन-सीमा माथि प्रश्नहरूको ओइरो लगाइएको छ तर स्रोतका अनुसार दुवैले हरेक प्रश्नमा हामीले एक-अर्कालाई मन पराएर विवाह गरेको भन्ने एउटै जवाफ दिइरहेका छन् ।

हिजो मङ्गलवार सीमासँगै उनका तीन सन्तान पनि एटीएसको हिरासतमा देखिएका थिए । एटीएसको अनुसन्धानमा सिमानाकाबाट फेला परेका ४ वटा मोबाइल र नेपाल कनेक्सन पनि महत्त्वपूर्ण भएको बताइदैछ । अहिले ती मोबाइलको स्क्रिनिङ भइरहेको छ । यससँगै सीमाको परिचयपत्रमा उमेर कम भएकोमा पनि प्रश्न उठेको छ । यसमा सीमाले पाकिस्तानमा आफ्ना छोराछोरीसँग पनि मोबाइल भएको बताएकी छिन् । त्यहाँ ७ दिनका लागि ३० जीवी डाटाको प्याक उपलब्ध छ । त्यही भएर बालबालिकाले मोबाइलबाट हटस्पट लिएर नेट चलाउने गर्थे, उनको तर्क छ ।

उमेरका सम्बन्धमा सीमा भन्छिन्, पाकिस्तानमा अक्सर मानिसहरू आफ्नो उमेर रेकर्डमा कम लेखाउँछन् । एटीएससँगै अन्य धेरै एजेन्सीहरूले सीमा-सचिनको सोधपुछमा नजर राखिरहेका छन्। सीमा र सचिनको मोबाइलबाट दुई वटा भिडियो पनि बाहिरिएका छन् । जसमा एक जना पाकिस्तानी र अर्को नेपालका हुन् । यसबाहेक सीमा र सचिनको काठमाडौं, नेपालमा भएको भेटघाट र उनीहरूको त्यहाँको बसोबासका साथै किनमेलको अनुसन्धान लाई महत्त्वपूर्ण मानिएको छ ।

सचिन र सीमाले काठमाडौंको पशुपतिनाथ मन्दिरमा विवाह गरेको र त्यस अघि त्यहीँ सीमाको धर्म मुस्लिम बाट हिन्दुमा परिवर्तन गरिएको समाचार यस अघि नै सार्वजनिक भैसकेको छ । यसका साथै सचिन र उनको परिवारका सदस्यहरूको बैङ्क खाता र विगत एक वर्षमा गरिएको लेनदेनको पनि छानबिन भइरहेको छ। स्रोतहरूका अनुसार एटीएसको सम्पूर्ण अनुसन्धान सीमा र सचिन बिच साँच्चैको प्रेम हो कि यो पाकिस्तानी जासुसी हो भन्ने प्रश्नमा केन्द्रित छ ? हाल एटीएसले यो अनुसन्धानको बारेमा कुनै जानकारी दिएको छैन्।

प्रतिक्रिया