सोमबार, वैशाख २४, २०८१

चितवनमा ३७ प्रतिशत विकास बजेट फ्रिज

नेपालखोज २०८० साउन ५ गते १३:०५

भरतपुर । चितवनमा विकास बजेटको ३५ प्रतिशत भुक्तानी असार मसान्तमा मात्रै भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा दुई अर्ब २४ करोड ७५ लाख ९३ हजार भुक्तानी भएको हो । सङ्घतर्फको नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार रहेको पुँजीगत बजेटमध्ये छ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ को वित्तीय प्रगति भएको कार्यालयले जानकारी दिएको छ ।

चितवनमा आर्थिक वर्ष २०७९/८० मा ३७ प्रतिशत विकास बजेट फ्रिज भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटमध्येबाट चार अर्ब ८४ करोड ३८ लाख ४१ हजार खर्च हुन नसकेर फिर्ता भएको हो ।

कार्यालयका अनुसार जिल्लामा सङ्घ र प्रदेश सरकारको पुँजीगत बजेट १३ अर्ब सात करोड २० लाख २८ हजार विनियोजन भएको थियो । त्यसमध्ये नौ अर्ब ३७ करोड सात लाख ५३ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मुक्तिप्रसाद चापागाईँले जानकारी दिए ।

सङ्घीय सरकारबाट चितवनका लागि नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार पाँच सय १७ पुँजगत बजेट विनियोजन भएको थियो । त्यसमध्ये छ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ मात्र खर्च हुन सकेको चापागाईँले बताए । यसरी सङ्घको विकास खर्चको वित्तीय प्रगति हेर्दा ७२ प्रतिशत मात्र देखिन्छ ।

चितवनमा सङ्घ र प्रदेशको कूल बजेट २९ अर्ब ३२ करोड २८ लाख ३५ हजार थियो । २४ अर्ब ४८ करोड ६९ लाख ९४ हजार खर्च भएको छ । यसरी हेर्दा ८३ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । चालुतर्फ खर्च बढी हुँदा समग्रमा वित्तीय प्रगति सन्तोष जनक देखिएको हो ।

चितवनमा पुँजीगत बजेटभन्दा चालु बजेट बढी थियो । यसको वित्तीय प्रगति पनि राम्रो छ । सङ्घ र प्रदेशको चालु बजेट १६ अर्ब २५ करोड ८१ हजार थियो ।

सङ्घतर्फ चालु बजेट १४ अर्ब २० करोड चार लाख ६४ हजार पाँच सय ८२ थियो । सङ्घतर्फको चालु खर्च ९५ प्रतिशत छ । १३ अर्ब ४४ करोड ४० लाख ७४ हजार खर्च भएको छ ।

सङ्घतर्फको चालु खर्च सबैभन्दा बढी विपी कोइराला क्यान्सर अस्पतालको हुन सकेको छैन । अस्पतालमा कार्यकारी नहुँदा वैशाखदेखि त्यहाँका कर्मचारीले तलब पाएका छैनन् ।

तीन करोड हाराहारीमा अस्पतालको चालुतर्फको रकम फ्रिज भएर फिर्ता भएको छ । प्रदेशतर्फको चालु बजेट दुई अर्ब पाँच करोड तीन लाख थियो । त्यसमध्ये एक अर्ब ६७ करोड २१ लाख खर्च भएको छ ।

चितवनमा सङ्घतर्फ चालु र पुँजीगत गरी कूल बजेट २३ अर्ब ४३ करोड ८० लाख १४ हजार थियो । त्यसमध्ये २० अर्ब १३ करोड ६१ लाख ९२ हजार खर्च भएको छ ।

पुँजीगत र चालुतर्फको बजेट हेर्दा वित्तीय प्रगति सन्तोषजनक रहेको चापागाईँले बताए । ‘सङ्घको चालु खर्च ९४ प्रतिशत भएको छ, पुँजीगत खर्च ७२ प्रतिशत देखिन्छ, यसरी समग्रमा ८५ दशमलव ९१ प्रतिशत खर्च भएको छ’, उनले भने ।

प्रतिक्रिया