पहिरो नियन्त्रणका लागि स्वीस दम्पतीबाट सहयोग

नेपालखोज २०८० साउन ६ गते ८:२४

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि विदेशबाट रु १५ लाख सहयोग प्राप्त भएको छ । गत वर्ष असारमा अविरल वर्षापछि पहिराले विद्यालय जोखिममा परेपछि स्वीजरल्याण्डका मार्टिन सिँगर र कुस्सी दम्पतीले सो रकम प्रदान गरेका हुन् ।

सहयोग रकमको ‘चेक’ शुक्रबार स्वीस नागरिक एरिकले विद्यालयका प्रधानाध्यापक दुर्गावहादुर रावतलाई हस्तान्तरण गरे । स्वीस व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा पुगे ।

विद्यालयको खेल मैदानसम्म पहिराले जोखिममा पारेको प्रत्यक्ष देखेपछि उहाँहरुमा सहयोगको भावना जागृत भएको थियो । त्यस बेला आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका दुवैले सहयोग रकम एरिकमार्फत विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक रावतले बताए ।

उनका अनुसार विद्यालयका पूर्वअङ्ग्रेजी शिक्षक क्रान्ति गिरीमार्फत सम्पर्कमा आएका एरिकले सहयोगका लागि समन्वय गरेका हुन् । संरक्षणका कामका लागि रु ३५ लाख खर्च लाग्ने अनुमान गरिए पनि चालु वर्षमा भने प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ । स्वीसका दुई नागरिकबाट सहयोग रकम प्राप्त भएपछि छिट्टै काम अघि बढाइने प्रधानाध्यापक रावतले जानकारी दिए ।

प्रतिक्रिया