बिहीबार, जेठ २, २०८२

‘मलाई अरूले बचाउनुभयो, म अरूलाई बचाउन चाहन्छु’

रूपेश आचार्य २०८० साउन ७ गते ११:३४

अब चोटहरूले पिरोल्दैन मलाई
गहिरो घाउ छातीमै छ

गीतजस्तै भएको छ हाँस्दै खेल्दै गरेको सुमधुर जीवन। एकपटक उठेर हिँड्न, दौडिन पाए, धोको पुर्याएर नाच्न पाए पनि हुन्थ्योजस्तो लाग्छ हिजोआज।पाल्पाको रिप्दीकोट–३ मा सातौं सन्तानका रुपमा जन्मिनुभयो कृष्ण खड्का। परिवारको कान्छो छोरा भएकाले सबैको माया स्नेह पाउनुभयो। खासै दुःख पनि भएन त्यतिबेला।

मध्यम वर्गको परिवारमा जन्मिएका कृष्ण १९ वर्षको हुँदा मलेसिया जाने तयारी गर्नुभयो। ‘घरमा दुःख पाएर भन्दा पनि नयाँ परिवेश, नयाँ रहनसहन सिक्न र घुमघाम गर्न मन लाग्यो,’ उहाँले सुनाउनुभयो, गाँउघरका आफ्नो उमेर समूहका प्रायः सबै साथीसँगी बिदेसिएका भएर पनि विदेश जान मन लाग्यो।’

मलेसियामा हउाँले हाउसकिपिङको काम गर्नुभयो। ५/७ महिनापछि काममा मिहिनेती र लगनशील देखेर साहुले लिडरसिपको जिम्मा दियो। ‘काम गर्न रमाइलो पनि भयो। त्यसमाथि सबै जना मिलनसार। भाषा पनि छिटै सिकेँ। नयाँ कुरा सिक्न सानैदेखि उत्सुकता भएकाले काम सानो–ठूलो भन्ने लागेन,’ कृष्ण सुनाउनुहुन्छ।

एक दिन शनिबार थियो। अफिस बन्द भए पनि केही अधुरा काम बाँकी भएर साथीहरूसँग अफिस हेरचाह भनेर जानुभयो। त्यही दिन उहाँका लागि कालो दिन साबित भयो। काम सकेर शारीरिक व्यायाम गर्ने क्रममा सन्तुलन नमिलेर लड्नुभयो। साथीहरूले एम्बुलेन्स बोलाएर क्वालालम्पुर अस्पतालमा लगे।

कृष्णका अनुसार अस्पतालमा नर्स/डाक्टरसम्म पुग्दा होस थियो। त्यसपछि बेहोस भएर होसमा फर्किन झन्डै तीन महिना लागेछ। ‘मान्छे चिन्थें, देख्थें। तर तर बोल्न नसक्ने गरी कोमामा पुगेझँ भएछु,’ उहाँले आफ्नो अनुभव सुनाउनुभयो।

तीन महिनासम्म बोली नै फुटेन कृष्णको। ११ महिनामा बल्ल अलिअलि बोली फुट्यो। तर शरीर भने मुढाजस्तै भएछ। यताउता फर्किन र चल्न नसक्ने। उहाँको उपचारका लागि १० महिना भेन्टिलेटरमा राखियो। घाँटी सुक्खा हुने, चिसो पानी पिउन मन लाग्दा बोलाउन नसक्नेजस्ता समस्या देखिए। जिब्रो चलाएर बोलाउँदा कसैले सुन्दैनथे।
‘मलाई अलगै कोठामा राखेको थियो,’ कृष्ण भन्नुहुन्छ, ‘नुहाइदिन घाउ सफा गरिदिन नर्स आउँथे। दिनमा दुई–तीनपटक डाक्टर आएर चेकअप गर्थे। शरीर पिल्सिएझैँ भएको थियो। एकै ठाँउमा सुतेको सुतै गर्दा घाउ पाक्ने, पिप बग्ने गथ्र्यो। घाँटीभन्दा तलका कुनै पनि भाग चल्दैनथ्यो। आफ्नो शरीर आफ्नो होइनजस्तो लाग्यो। अब त मेरो जीवन यहीँसम्म रहेछ भनेर रोएँ पनि।’

उपचार खर्चमा समस्या भएन। सबै खर्च कम्पनीले नै व्यहोरिदियो। पछि नेपाल फर्किंदा प्लेन टिकट तथा एउटा डाक्टर र सहायक हेल्पर कम्पनीले नै रिफर गराइदियो।

नेपाल ल्याउनेबित्तिकै कृष्णलाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरियो। त्यतिबेला अस्पताल सोह्रखुट्टेमा थियो। एक हप्ता मनमोहनमा राखेपछि लुम्बिनी मेडिकल कलेजमा नौ महिना राखियो। त्यसपछि उनले उहाँलाई ‘खगेन्द्र नवजीवन गृह’ जोरपाटीमा ल्याइयो।

‘खगेन्द्र गृहमा ल्याएपछि नयाँ जीवन पाएको अनुभूत भयो,’ कृष्ण भन्नुहुन्छ, ‘यहाँ आएपछि कल्पनै नगरेको कामको सुरुवात भयो। चिन (चिउँडो) कन्ट्रोलर इलेक्ट्रिक ह्विलचियरबाट नै ल्यापटप, ट्याक, हेल्मेट र स्टाइलसको सहयोगमा चलाउन थालेँ।’

पहिला महिनाको ६ हजार तिरेर खगेन्द्र नवजीवन गृहमा बस्नुपर्ने व्यवस्था थियो। चार वर्षसम्म इंग्ल्यान्डका पौला मरीसले सहयोग गर्नुभएछ कृष्णलाई। तर अहिले सरकारले निःशुल्क गरेको छ। कैलालीका समाज सेवी कृष्ण चौधरीले जापानबाट चिन कन्ट्रोल ह्विलचियर निःशुल्क दिएको कृष्णको भनाइ छ।
अहिले घाँटीभन्दा तलका कुनै पनि अंग चल्दैनन्। घाँटीभन्दा माथि मात्र चल्ने भएको भएर चिन कन्ट्रोलर चियरले धेरै राहत मिलेको उहाँको भनाइ छ। यसको विशेषता भनेको, दाँयाबाँया गर्न सहज, आवश्यक मात्रामा गति घटबढ, हर्न बजाउन मिल्ने, शरीरका भाग एडजस्ट गर्न मिल्ने हुन्।

अहिले कृष्णलाई न भोक लागेको थाहा हुन्छ न प्यास लागेको नै थाहा हुन्छ। दिसापिसाब आएको पनि थाहा हुँदैन। पेटमा दुई ठाँउमा प्वाल पारेर पाइप छिराइएको छ। त्यहीँबाट दिसापिसाब कोलागी ब्यागमा झर्छ।

यो दुर्घटनाबाट पाठ सिकेका कृष्णले आफ्नै पहलमा विभिन्न व्यक्ति तथा सामाजिक अभियन्ताको सहयोगमा १५ जनालाई चारवटा ह्विल स्कुटर, केहीलाई छात्रवृत्ति, १५ वटा इलेक्ट्रिक ह्विलचियर र १५–१६ जनालाई कम्प्युटर दिलाउनुभएको छ।

‘हिम्मत हार्न हुँदैन, हरेस पनि खान हुँदैन,’ कृष्ण खड्काभन्नुहुन्छ, ‘गरे सबथोक सम्भव छ। मलाई अरूले बचाउनुभयो। म अरुलाई बचाउन चाहन्छु।’ – INS

प्रतिक्रिया