सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर मृत फेला

नेपालखोज २०८० साउन १० गते १०:४०

सर्लाही । सर्लाही प्रहरीले राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का एकजना अनुसन्धान अधिकृत (इन्स्पेक्टर) लाई मृत फेला पारेको छ । प्रहरीले उनको शव सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा फेला पारेको हो ।

सर्लाही प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि बुधबार बिहान मृत फेला परेका हुन् । घटनास्थलमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घटनास्थलमा मृतक साहमाथि मोटरसाइकल लडिरहेको छ । उनको छाती र पेटमा मोटरसाइकलले च्यापेको र हेलमेटको फिता समेत कस्सिएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएको जनाएको छ ।

प्रतिक्रिया