नेपाल श्रीलंकाको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित

नेपालखोज २०८० साउन १० गते १७:२०

काठमाडौं ।  नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको छ । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली ब्लूमफिल्ड क्लबले २४.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

जितमा श्रीलंकाबाट यू१९ क्रिकेट खेलि सकेका युवा ब्याटर हसिता बोयागोडाले ५३ बलमा ७ चौका र ७ छक्कासहित ९० रनको आक्रामक इनिङ खेले । उनी प्रतिश जि.सीको बलमा अर्जुन साउदबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।

ओपनर सानदुन विराकोडी २२ बलमा ५ चौका र १ छक्कासहित ३१ र असिथा वानिनायाके १ रनमा आउट भए । अशान फेनान्डो ५४ बलमा ६ चौका र २ छक्कासहित ५६ रनमा अविजित रहे ।

नेपालका स्पिनर सूर्य तामाङले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भएको थियो । नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले १ सय १३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिएका थिए।

नेपाललाई ओपनर अर्जुन साउद र देव खनालले १०.५ ओभरमा ३८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । देव खनाल ३४ बलमा २ चौका र १ छक्का २२ रनमा आउट भए ।

दोस्रो विकेटका लागि अर्जुन साउद र गुलशन झाले ३७ रनको साझेदारी गरेका थिए । गुलशन २५ बलमा ९ रन बनाउँदै आउट भए । सन्दीप जोरा २७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

तेस्रो विकेटका लागि सन्दीप जोरा र अर्जुन साउदले ४९ रनको साझेदारी गरेका थिए । एक समय १२४-२ को बलियो अवस्थामा रहेपनि सन्दीप जोरा क्याच आउट भएपछि नेपालले लगातार किकेट गुमाएको थियो ।

नेपालका बायाँ हाते ब्याटर कुशल मल्ल ३, पवन सरार्फ १०, सोमपाल कामी ११, प्रतिश जि।सी १६ र करण केसी ११ रन बनाउँदै आउट भए । ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान दुई विकेट लिए ।

नेपालले एसिया कप अघि श्रीलंकामा विशेष तयारी गरेको छ । श्रीलंकाले अव तीन अभ्यास खेल खेल्नेछ । कुन टोली र कहिले खेल्ने त्यो भने क्यानले सार्वजनिक गरेको छैन । श्रीलंका क्रिकेट बोर्डको समन्वयमा अभ्यास गरेको हुँदा बलियो टोली पाउने अनुमान गरिएको छ । – Hamrokhelkud

प्रतिक्रिया