यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पथप्रदर्शक तालिम

नेपालखोज २०८० साउन ११ गते १८:०२

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पर्यटन क्षेत्रमा आबद्ध गराई उनीहरूलाई आर्थिक तथा सामाजिकरूपमा सबल तुल्याउने उद्देश्यले पथप्रदर्शक (ट्रेकिङ गाइड) तालिम दिइएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)द्वारा संयुक्तरूपमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको आयोजनामा नेपालमै पहिलोपटक यस्तो तालिम आयोजना गरेको हो । पैतीस दिने तालिममा २५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको सहभागिता थियो ।

तालिमका सहभागीलाई आज एक कार्यक्रमका बीच प्रणाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि सञ्चालित यो कार्यक्रम आफैँमा ठूलो सन्देश भएको बताए ।

समाजमा हरेक खालका मानिसका लागि रोजगारी आवश्यक रहेको बताउँदै मन्त्री किरातीले तालिमले ‘एलजीविटीआइक्यूएपल्स’ समूहका सदस्यलाई पर्यटन क्षेत्रमा काम गर्न तथा स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

युएनडिपी नेपालका ‘पोर्टफोलियो म्यानेजर’ कल्पना सरकारले अल्पसङ्ख्यकलाई समाजको मूल प्रवाहमा ल्याउन अझै पनि ठलो चुनौती रहेको अवस्थामा यस किसिमको तालिमले सो समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताईन् ।

प्रतिक्रिया