‘हस्तकलाका सामग्री बनाउँदा ज्याला पनि उठ्दैन’

नेपालखोज २०८० साउन १२ गते १३:३९

टीकापुर । कैलालीकी छोट्की चौधरी पाँच वर्षअघिसम्म बर्सातका मौसममा निकै व्यस्त रहन्थिन् । खेतीपाती सकेपछि उनीले हातको सीप र कला प्रयोग गरेर घरमा आवश्यक ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पैनछोप्नी, पैन, हाते पङ्खालगायतका हस्तकलाका सामग्री उत्पादन गथिन् ।

उनीले ती सामान आफन्तलाई कोशेली दिने र उनीहरुलाई सरसामान राखेर दिन्थिन् । उनीले दुई वर्षदेखि यसरी हस्तकलाका सामग्री बनाउन चटक्कै छोडिन् । ‘मलाई आजभोलि समान बनाउन मन लाग्दैन । पहिला फुर्सद हुने वित्तिकै बनाउँथे’, उनले भनिन्, ‘आजभोलि ज्यालादारीको काममा जान्छु, काममा गए आफ्नो खर्च निस्कन्छ, त्यसबाहेक फुर्सद मिल्दैन, बनाउन छोडे ।’

विगतमा खेतीपातीको कामबाट फुर्सदिला बने लगत्तै थारु महिला हातको कला र सीपको प्रयोग गरी विभिन्न सामग्री बनाउने गर्दर्थे । उनीहरुले प्रायः साउन, भदौँ र असोज महिनामा हातका कला र सीप प्रयोग गरी ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पैनछोप्नी, पैन, हाते पङ्खालगायतका हस्तकलाका परम्परागत सामग्री धेरै मात्रामा बनाउँथे तर अहिले हस्तकलाका सामग्री बनाउने वीरलै भेटिन्छन् ।

अहिले पहिलाको जस्तो फुर्सद नहुने विभिन्न कार्यमा थारु महिला पनि व्यस्त हुँदै गइरहेकाले हस्ताकलाका सामग्री बनाउने घटेका जानकी गाउँपालिका– ८ भगरैयाका तारा चौधरीले बताइन् । ‘आजभोलि बुनेर बस्ने फुर्सद हुँदैन, महिला अन्य सीप र नयाँ काम गर्न थालिन् , उनले भनिन्, ‘अन्य काममा कमाइ र प्रविधिको प्रयोग हुन्छ, त्यसैले पनि यो सीप हराउने चिन्ता छ ।’

प्रायः घरायसी प्रयोजन तथा श्रृङ्गारिक वस्तुका रुपमा प्रयोग हुने यी सामग्री बनाउँदा जति कलात्मकरुपमा बनाउन सकिन्छ त्यति राम्रा र आकर्षक देखिन्छन् ।

ढकियामा वनस्पतिलाई रङ्गले रङ्गिन बनाई सीपको प्रयोग गरी आकर्षक बनाउनका लागि बनोटअनुसारका ढाँचा र चित्र बनाउने गरेका हुन्छन् ।

उनीहरुले हस्तकलाका सामानमा विभिन्न पशुपन्छीको कलात्मक बुट्टा बनाएका हुन्छन् । यसरी महिनाैँ लगाएर सामग्री बनाउने गर्दथे तर अहिले कला र सीप हस्तान्तरण गर्ने, सिकाउने व्यक्तिसमेत कम हुँदै गएका सुमित्रा चौधरीले बताए ।

प्रतिक्रिया