अर्जेन्टिना र दक्षिण अफ्रिका बराबरी, समान १ अंक जोडे

एजेन्सी – पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै अर्जेन्टिना फिफा महिला विश्वकपमा हारबाट जोगिएको छ । दुई गोलले पछि परेको स्थिति उल्ट्याएर अर्जेन्टिनाले दक्षिण अफ्रिकासँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।
डुनेडिन स्टेडियम न्युजिल्यान्डमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाकी लिन्डा मोटहालो र थेम्वीले गोल गर्दा अर्जेन्टिनाकी सोफी ब्राउन र रोमिना नुनेजले बराबरी गोल फर्काइन् । खेलमा अर्जेन्टिनाले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल खान पुगेको थियो ।
३०औं मिनेटमा लिन्डाको गोलबाट अर्जेन्टिना खेलमा पछि परेको थियो । उनले थेम्वीको पासमा गोल गर्न सफल भएकी थिइन् । ६६औं मिनेटमा थेम्वीले जर्मेन सिओपोसेन्वीको पासमा गोल गरेपछि अर्जेन्टिना खेलमा २–० ले पछि पर्यो ।
दुई गोलले पछि परेपनि नडगमगाएको अर्जेन्टिनाले ७४औं मिनेटमा गोल गर्दे टोलीलाई खेलमा फर्काउने संकेत दिए । सोफीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याइन् । त्यसपछि ७९औं मिनेटमा रोमिना नुनेजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । उनले यमिला रोड्रिग्वेजको पासमा गोल गर्न सफल भएकी थिइन् ।
त्यसपछि पनि अर्जेन्टिनाले खेलमा दवाव बढाएपनि थप गोल गर्न नसक्दा अर्जेन्टिना हारबाट जोगिन सफल भयो । दक्षिण अफ्रिकाले भने दुई गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो ।
यस बराबरीसँगै समूह ‘जी’ मा अर्जेन्टिना र दक्षिण अफ्रिकाले समान १ अंक जोडेका छन् । दुवै टोली पहिलो खेलमा पराजित भएको थियो ।
अर्जेन्टिना इटालीसँग १–० ले पराजित हुँदा दक्षिण अफ्रिका स्वीडेनसाग २–१ ले पराजित भएको थियो । यो समूहमा स्वीडेन र इटालीको समान ३ अंक रहेपनि बढी गोलको आधारमा अघि छ ।

प्रतिक्रिया