परोपकारी उपमेयर कौशिला : आफ्नो पारिश्रमिक विद्यार्थीलाई पढ्न सहयोग गर्दै

बैतडीको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले प्राविधिक शिक्षा पढ्ने २२ जना विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै चन्दले आफूले पाउने पारिश्रमिकबाट हुन आउने रकमलाई ‘उपमेयर अक्षयकोष’ मा जम्मा गर्ने र त्यसबाट १२ छात्रा र १० छात्र गरी २२ जना विद्यार्थीलाई ५० हजारका दरले वार्षिक सहयोग गर्ने घोषणा गरेकि हुन्।
एसईई उत्तीर्ण गरी प्राविधिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई यस कार्यक्रममा समेट्न लागिएको हो । नगरपालिकामा छनौट समिति गठन गरिने र उक्त समितिबाट छनौट भएका विद्यार्थीले सो रकम सहयोगस्वरुप पाउनेछन्। छनौटमा दलित विद्यार्थी १० जना हुनेछन् भने बाँकी आर्थिक अवस्था कमजोर भएका र लक्षित समूहका हुने बताइएको छ।
‘प्राविधिक शिक्षा आजको आवश्यकता नै भइसक्यो, धेरै विद्यार्थी यही धारको शिक्षा हासिल गर्न चाहन्छन्,’ उपप्रमुख चन्दले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका र दलित तथा लक्षित वर्गका विद्यार्थीलाई यो छात्रवृत्ति कार्यक्रममा समेट्छु।’
आफू उपप्रमुखको जिम्मेवारीमा बसेको एक वर्ष भएको र यस अवधिमा पाएको सबै रकम उपमेयर कोषमा जम्मा गरिसेकेको चन्दको भनाइ छ।
‘आफ्नो कार्यकालमा पाउने सबै पारिश्रमिक तथा सेवा–सुविधाको रकम कोषमा जम्मा गरी परोपकारका क्षेत्रमा सहयोग गर्छु,’ उनले भनिन्। – INS

प्रतिक्रिया