बिहीबार, असार ५, २०८२

कुखुराको मासुको भाउ घट्दा अण्डाको किन घट्दैन ?

नेपालखोज २०८० साउन १३ गते ११:३७

काठमाडौं । नेपाली बजारमा अहिले प्रतिगोटा अण्डाको मूल्य २० रुपैयाँ तिर्नुपरेको उपभोक्ताले गुनासो गरेका छन् ।

काठमाडौंको ठहिटीमा बस्ने मनोज साहले बिहीवार मध्यम आकारको एक क्रेट अण्डा ५०० रुपैयाँमा किने । ‘खोई के कारणले अण्डा यति महँगो भएको मैले त बुझ्नै सकेको छैन,’ उनले गुनासो गरे ।

गत साढे तीन महिनाको अवधिमा प्रतिक्रेट अण्डाको मूल्यमा १९.४८ प्रतिशतसम्मले वृद्धि भएको पाइएको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले असार २६ गतेबाट लागु हुने गरी तोकेको फार्म मूल्य सूचीअनुसार एक्सएल आकारको अण्डा प्रतिक्रेट रु.४६०, ठूलो आकारको रु.४५० र मध्यम आकारको रु.४२५ रहेको छ ।

सङ्घले गत चैत २९ गतेबाट लागु हुने गरी दर कायम गरेअनुसार ती आकारको अण्डाको मूल्य प्रतिक्रेट क्रमशः रु.३८५, रु.३७० र रु.३४० थियो । यसै वर्षको वैशाखमा प्रतिगोटा अण्डाको मूल्य १८ रुपैयाँ रहेकोमा अहिले साउनमा २० रुपैयाँ पुगेको छ ।

जेठ ३१ गतेको मूल्य सूचीअनुसार प्रतिक्रेट क्रमशः रु.४१५, रु.४०५ र रु.३८५ थियो भने जेठ ९ गतेबाट प्रतिक्रेट क्रमशः रु.४००, रु.३८५ र रु.३५५ कायम गरिएको थियो ।

मासुमा जसरी किन घट्दैन ?

नेपालमा मुख्यतया मासु विक्री गर्ने उद्देश्यले ब्रोइलर कुखुरा पालिन्छ भने अण्डा उत्पादनका लागि लेयर कुखुरा पाल्ने गरिन्छ ।

कुखुरापालक किसानहरूका अनुसार मासुको प्रयोजनका लागि ब्रोइलर कुखुरा ३७ दिनको भएपछि बेच्न सुरु गरेर ४५ दिनको हुञ्जेल बेचिसकिन्छ ।

‘त्यति दिनमा बेचिएन भने लागत बढ्नेदेखि मर्न थालेर किसानलाई घाटा हुने अवस्था सिर्जना हुन्छ,’ नेपाल पोल्ट्री महासङ्घ कार्यसमिति सदस्य तेजनारायण पाण्डेले भने ।

उनका अनुसार पछिल्ला महिनामा अत्यधिक गर्मीका कारण धेरै कुखुरा मरेका कारण पनि अहिले अण्डाको भाउ बढेको हो । ‘माग उत्तिकै तर उत्पादन कम भएपछि मूल्य बढ्नु बजारको सामान्य सिद्धान्त नै हो,’ पाण्डेले थपे।

लेयर कुखुरा अण्डा दिने अवस्थामा पुग्न पाँच महिना हाराहारीको समय लाग्छ। त्यस बेलासम्म प्रतिफल नपाई लगानी गर्नुपर्ने हुन्छ।

‘तुलनात्मक रूपमा लेयर कुखुरामा लगानी बढी हुन्छ । अर्कोतर्फ अण्डा उत्पादन हुनासाथ ब्रोइलर कुखुरालाई बेचिहाल्नुपर्ने अवस्था हुँदैन। त्यसले गर्दा पनि अण्डाको मूल्य मासुको जसरी घट्दैन,’ पाण्डेले थपे ।

प्रतिक्रिया