सद्भाव छर्दै मुहर्रम : हुसैनको त्याग र बलिदानको सम्झना

नेपालखोज २०८० साउन १३ गते २१:०९

लुम्बिनी । मुहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ ।

मुहर्रमको बढी महत्त्वपूर्ण दिन ‘आशूरा’ हो, जो मुहर्रमको दशौँ दिन पर्दछ । विभिन्न मुस्लिम समुदायका लागि यसको धार्मिक महत्त्व अलग–अलग हुनसक्छ । अधिकांश मुस्लिम समुदाय आशूरालाई अत्यन्त महत्त्वका साथ मान्ने भएकाले यसलाई विशेषरूपमा मनाउने गरेका छन् ।

भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने जनविश्वास छ । साथै यो पर्व श्रद्धापूर्वक मनाउनाले परिवारिक सुख, शान्तिका साथै बिग्रेको कामसमेत बन्ने गरेको सामाजिक अभियान्ता रामदयाल ठाकुरले बताए ।

‘हिन्दूहरू समेतले मनाउने भएकाले पछिल्लो समयमा मुहर्रमको रौनकता बढ्दै गएको छ । यो पर्व मान्नेहरूले ताजिया बनाइ ढोल, मजिरा, तासा बजाउँदै झर्रा आदि गीत गाउने चलन छ ।’ मधेस मानवअधिकार गृह कपिलवस्तुका उपाध्यक्ष तथा सामाजिक अभियान्ता ठाकुरको भनाइ छ ।

आशूराका दिन ताजिया यात्रा गर्दै मुहर्रमका सहिदहरूको यादमा मातम मनाइन्छ र उनीहरूलाई श्रद्धाञ्जलि दिइन्छ । यसको अतिरिक्त, सामाजिक तथा धार्मिक कार्यक्रम आयोजित हुन्छ । हिन्दूहरूले पनि यो पर्वलाई निराहार व्रत बसी शोक समारोहका साथ, ताजिया यात्रा गर्दै मनाउने गरेका छन् ।

इस्लामिक क्यालेन्डरअनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’का साथै ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्षको यो महिना पैगम्बर महोमदको नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा हिन्दू र मुस्लिम समुदाय एकसाथ मनाउने गरेका छन् ।

सन् २०२३ मा मुहर्रम २० जुलाईबाट सुरू भएको छ, त्यसैले यो वर्ष २९ जुलाईमा मुहर्रम मनाइँदैछ । इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्त्व र इतिहास बोकेको छ । यही महिनामा हजरत इमाम हुसैनले कर्बलाको लडाइँमा सहादत प्राप्त गर्नुभएको थियो ।

मुहर्रम महिनाको पहिलो दश दिन इमाम हुसेनको शोकका रूपमा मनाइन्छ । यसलाई आशूरा पनि भनिन्छ । हजरत इमाम हुसैन अफ्ना ७२ साथीसहित मोहर्रम महिनाको दशौँ दिन कर्बलाको मैदानमा सहिद हुनुभएकाले उहाँको सहादत र बलिदानीका लागि यो दिनलाई विशेषरूपमा सम्झिने गरिएको छ ।

‘हजरत इमाम हुसैन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिदविरुद्धको लडाइँमा उहाँको सेनाबाट परिवारका सदस्य र अन्य साथीसहित कर्बलाको मैदानमा सहिद हुनुभएको थियो । उहाँ समानता, न्याय र दयालुताको लागि लड्ने गर्नुहुन्थ्यो’, अब्दुल्ला अलिगले बताए ।

तत्कालीन सल्तनतमा त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको उनले सुनाए । अब्दुल्ला अलिगलका अनुसार विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो ।

को हुनुहुन्थ्यो हजरत इमाम हुसैन ?

हजरत इमाम हुसैन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति हुनुहुन्थ्यो । इमाम हुसैनका वालिद अर्थात् पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो, उहाँ पैगम्बर साहबको ज्वाइँ थिए । त्यसैगरी इमाम हुसैनको आमाको नाम बिबी फातिमा थियो ।

हजरत अली धार्मिक तथा सामाजिक मुखिया हुनुहुन्थ्यो । उहाँलाई चौथो खलिफा बनाइएको थियो । हजरत अलीको सहादतपछि मानिसहरू इमाम हसन ९हुसैनका दाजु०लाई खलिफा बनाउने पक्षमा हुनुहुन्थ्यो, तर विद्रोह गरेर हजरत अमीर मुआविया खलिफा भए ।

कसरी मनमाइन्छ, मोहर्रम ?

मोहर्रमको दशौँ दिन अर्थात् आशूराका दिन ताजियादारी गरिन्छ । इमाम हुसैनको इराकमा दरगाह छ, जसको हुबहु नक्कल गरी ताजिया बनाइन्छ । शिया उलेमाका अनुसार मोहर्रमको चाँद निस्किने पहिलो तारिखमा ताजिया राखिन्छ । यो दिन इमाम हुसैनको सहादतको सम्झनामा ताजियासहित जुलुस निकालिन्छ । जबकि ताजिया निकाल्ने परम्परामात्र शिया समुदायमा छ, उत्तरी भारत र नेपालको अधिकांश ठाउँमा हिन्दूहरूले पनि ताजियासहित जुलुस निकाल्ने गरेका छन् ।

यो वर्ष नेपाल र भारतमा मुहर्रमको सुरुआत २० जुलाईबाट भएको छ । त्यसैले भारतमा आशूरा २९ अगस्तमा मनाइँदैछ । पाकिस्तान र बङ्गलादेशमा पनि आशूरा २९ अगस्त २०२३ मै मनाइँदैछ । जबकि सउदीअरब, ओमान, कतार, इराक, बहरिन, संयुक्त अरब अमिरातसमेत अन्य अरब देशमा मुहर्रम १९ जुलाईबाट प्रारम्भ भएकाले मातमको दिन २८ जुलाईमै मनाइएको छ ।

प्रतिक्रिया