मंगलबार, जेठ १, २०८१

भोजपुरमा डेंगु रोगीको संख्या बढ्दै, ३६ सङ्क्रमित देखिए

नेपालखोज २०८० साउन १४ गते २१:३४

टक्सार । पूर्वी पहाडी जिल्ला भोजपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेङ्गुबाट भोजपुरमा ३६ जना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी भोजपुर नगरपालिकामा २७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा छ, टेम्केमैयुङ गाउँपालिकामा दुई र रामप्रसाद राई गाउँपालिकामा एकजना डेङ्गुबाट सङ्क्रमित छन् । जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका रहेका छन् । पौवादुङ गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकामा विषादी वितरण गरिएको छ भने अन्य पालिकाहरूलाई परीक्षणका लागि किटहरूसमेत वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

पालिकाभित्र दुई जनामा सङ्क्रमण देखिएपछि विषादी छर्कने कार्य थालिएको टेम्कमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । क्रमिकरूपमा सङ्क्रमणको दर बढिरहँदा उपचार र सचेतनामा पहुँच भने बढाउनुपर्ने जिल्लावासीको माग छ । डेङ्गु नियन्त्रणका लागि अझै प्रभावकारी कार्यक्रमहरू जिल्लामा सञ्चालन हुन नसकेको सामाजिक अभियानकर्मी घमचन्द्र दाहालले बताए । ‘सचेतनासहित रोग नियन्त्रण गर्ने जिम्मा सरकारको हो, जिल्ला तहको सरकार भनेको स्थानीय पालिकाहरू हुन्, यिनीहरूको भूमिका प्रभावकारी हुनुपर्छ’, उनले भने ।

पर्याप्त किटको व्यवस्थापन गरी परीक्षणको दायरासमेत बढाउन आवश्यक रहेको उनले बताए । स्थानीय तहमा कार्यरत स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिमा कमी हुनु र स्वास्थ्य कार्यक्रम सञ्चालनका क्रममा विभिन्न निकायबीच देखिने गरेका दोहोरोपन तथा अस्पष्टता, तीन तहका सरकार बीचको अधिकार, कर्तव्य र जिम्मेवारीबारे समझदारी, समन्वय तथा सहकार्यको कमी जस्ता कारणले पनि स्वास्थ्य सेवाहरू प्रभावकारी बन्न नसकेको नागरिकको बुझाइ छ ।

स्वास्थ्य समस्याहरू समाधानका लागि स्थानीय तहहरूको भूमिका प्रमुख हुने बताउँदै स्थानीय युवा ज्योति पौडेलले भन्नुभयो, “स्थानीय तहहरूले प्रभावकारी ढङ्गबाट रोकथाम तथा सचेतनामूलका कार्यक्रमहरू गर्न आवश्यक छ ।” समुदायस्तरका स्वास्थ्य संस्थाहरूले जनताको प्रत्यक्ष सहभागितामा सरसफाइ, नागरिकका स्वास्थ्य जीवनशैली, रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा बढी समय र प्राथमिकता दिनुपर्ने औषधि व्यवसायी शान्तिराम रोकाले बताए ।

प्रतिक्रिया