मंगलबार, जेठ १, २०८१

डा. केसीले गरे सत्याग्रहको घोषणा

नेपालखोज २०८० साउन १५ गते १५:५३

काठमाडाैं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको भन्दै सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

उनलेले आयोगका सह-अध्यक्षसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत पदीय जिम्मेवारीबाट च्यूत भएर माफियाहरुलाई साथ दिइरहेको आशंका उत्पन्न भएको बताए ।

स्वास्थ्य शिक्षाका विभिन्न विषयहरुमा सीटीईभीटीमा भर्ति भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नगर्नु तथा उनीहरुलाई दण्डित गर्नुको सट्टा संरक्षण गर्नुले त्यस्तो आशंक जन्माएको डा. केसीको भनाइ थियो ।

‘दलीय कार्यकर्ता भर्ति केन्द्र बनेका राज्यका अरु नियामक निकायसमेत चिकित्सा शिक्षा आयोगलाई अटेरी गरेर मेडिकल माफियाको भाषा बोल्नु संयोग मात्रै नभई मेडिकल शिक्षा सुधारमा अहिलेसम्म भएको सुधारलाई उल्ट्याउने भ्रष्ट र आपराधिक प्रवृत्तिका राजनीतिक दलहरुको संगठित प्रयास भएको देखिन्छ’, डा. केसीले भने ।

प्रतिक्रिया