सोह्रौँ आवधिक योजनाको अवधारणापत्र स्वीकृत

नेपालखोज २०८० साउन १७ गते १३:२६

काठमाडौं । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए ।

राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेशको व्यवस्थाअनुसार आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।

आयोगले नयाँ आवधिक योजनाको दस्तावेज तयार पारेर स्वीकृत गरिसक्नका लागि आगामी माघ मसान्तसम्मको कार्यतालिका बनाएको छ ।

आयोगले तयार पारेको ‘सोह्रौँ योजना तर्जुमाका लागि संस्थागत व्यवस्थासम्बन्धी कार्यविधि, २०८०’ अनुसार पञ्चवर्षीय आवधिक योजना (२०८१-०८२–२०८५-०८६) तर्जुमाका लागि जेठ चौथो हप्ताबाट काम सुरु भएको थियो । आगामी माघ मसान्तसम्ममा आवधिक योजनालाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिसक्नेगरी समयतालिका बनाइएको छ ।

कार्यविधिअनुसार आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने निर्देशक समिति र सदस्यहरूको संयोजकत्वमा विषय क्षेत्रगत समिति रहेका छन् । सोह्रौँ योजनाको अवधारणापत्र निर्देशक समितिबाट सुझावसहित स्वीकृत भइसकेपछि आयोगको बैठकमा पठाइएको थियो ।

त्यसअघि आयोगले गत असारबाट विभिन्न क्षेत्रका विषय विज्ञसँग छलफल चलाएरआवधिक योजनाको अवधारणापत्र माथि सुझाव लिएको थियो ।

अब यसपछि योजनाको स्वीकृत अवधारणासहित विस्तृत योजना तर्जुमा सम्बन्धमा विषयगत मन्त्रालयहरूसँग प्रारम्भिक छलफल तथा आवश्यक विवरण उपलब्ध गराउन सबै मन्त्रालयलाई आयोगले पत्राचार गर्नेछ ।

विषयगत मन्त्रालयबाट भदौ पहिलो हप्ताभित्र सुझाव लिइसक्ने आयोगले जनाएको छ । समष्टिगत आर्थिक तथा लगानी खाका (आर्थिक मोडलिङ)को तयारी पनि भदौ दोस्रो हप्तासम्ममा भइसक्नेछ ।

प्रतिक्रिया