शनिबार, पुष ५, २०८२

भारतमा पहिरो जाँदा १७ नेपालीसहित १९ जना बेपत्ता

नेपालखोज २०८० साउन १९ गते २०:१०

काठमाडाैं । भारतकाे उत्तराखण्ड राज्यको गौरीकुण्डमा पहिरो जाँदा १७ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएका छन् ।केदारनाथ धाम जाने बाटोमा पर्ने गौरीकुण्डमा पहिरो जाँदा उनीहरु बेपत्ता भएका हुन् ।

पहिरोमा नेपालीले सञ्चालन गरेको एउटा होटल पनि बगाएको जनाइएकाे छ । केदारनाथ यात्रामा रहेका यात्रीहरु खाना खाने बेला पहिरो गएको बताइएको छ ।

पहिरोमा परेर कर्णाली प्रदेश घर भएका हरि बहादुरसहित उनको परिवारका सदस्य बेपत्ता भएका छन् । उनले पहिरो गएको ठाउँमा होटल सञ्चालन गरेका थिए । पहिरोमा परेर हरि बहादुरसहित उनका छोरा बीर बहादुर, पत्नी सुमित्रा, छोरी निशा पनि बेपत्ता भएका छन् । 

जिल्ला विपत् प्रबन्धन अधिकारी नन्दन सिंह जरवारलाई उद्धृत गर्दै भारतीय पत्रिका जागरणले लेखेअनुसार हरि बहादुरको होटेलमा खाना खान आएका कर्णालीको जुम्ला घर भएका मुन बहादुर बुढा र उनका छोरा धर्मराज बुढा पनि बेपत्ता भएका छन् । यस्तै, जुम्ला नै घर भएका लाल बहादुर कामी, चन्द्र कामी, सुखराम राउत र उनका छोरा जोरा राउत पनि बेपत्ता भएका छन्।

नेपाली नागरिक मानबहादुर बोहरा, उनका छोरा अमर बोहरा, श्रीमती २६ वर्षीया अनिता बोहरा, छोरी १४ वर्षीया राधिका बोहरा, छोरी ८ वर्षीया पिंकी बोहरा, छोरा ७ वर्षीया पृथ्वी बोहरा र छोरा ६ वर्षीया जटिल बोहरा पनि बेपत्ता भएका छन् । उनीहरूको नेपालको स्थानीय ठेगाना भने खुलेको छैन ।

प्रतिक्रिया